भ्रूण हत्या

तुलसी पण्डित

ऊ रोयो , करायो, पछुतायो । आफूले गरेको कुकर्म प्रति पश्चाताप मान्यो । मैले किन प्रकृतिमाथि लात मारे । प्रकृतिलाई स्वीकार्नु सबैको कर्तव्य होनि । नत्र यो सृष्टि रहन्न । सृष्टिलाई मेटाउन खोज्ने म महामुर्ख हुम् । मैले सुखको लागि जून कुकर्म गरे त्यसको प्रायश्यित भोग्दैछु।
हुन पनि हो उसले श्रीमतीको गर्भमा रहेका भ्रुणहरु डाक्टरसँग जचायो । छोरी रहेको थाहा पाएर फाल्न लगायो। यसरी उसले सातवटा सम्म छोरीहरुको भ्रुण फाल्न लगायो । आठौँ गर्भ जचाउदा छोरो रहेछ ।ऊ खुशी भयो ।जन्मायो , हुर्कायो , पढायो , योग्य बनायो।
छोराको विवाह गर्ने बेला भयो । केटीको कुरा चलायो । छोराको विवाहको लागि अथक प्रयास गर्यो । तर कसैले छोरी दिएनन्।
उसले सोच्यो । किन मेरो छोराले कन्या पाएन । ऊ पढेलेखेको जागिरे छ । रुपमा राम्रो छ ।सम्पत्ति पनि प्रशत्त छ। उसले आफ्नो साथीसँग कुरा राख्यो।
“होइन भकुण्डे मेरो छोराको लागि कतै कन्या पाउन सकिएन । छोरो पैतीस वर्ष भैसक्यो। सबै कुराले निपुण हुदा पनि कोही अगाडि सर्दैनन् कन्या दिन।”
“हेर माने तैले प्रकृति माथि खेलबाड गरिस् । यो कुरा व्यापक चर्चा भएको छ । छोराको विवाह हुन न सक्नु यसैको परिणाम हो ।””होइन मैंले प्रकृति माथि त्यस्तो केही खेलवाड गरेको छैन ?”
” ती सातवटा छोरीको भ्रुण हत्या गरेको भुलिस्। “