शुभारम्भ


बिन्दु पौड्याल वस्ती
भरतघपुर-२,चितवन

आमा चाहन्थिन् – आफ्नो घर सानै भए पनि न्यानो होस् , चारैतिर उज्यालो किरणले चम्कियोस् । भोकमा मिठो, मसिनो जे भएपनि पेट भर्न पाइयोस्।
उता भने लामो यात्रामा थाकेको, बृद्ध यात्रीरुपी पुरानो वर्ष पराजित रावण जस्तै देखिएको थियो । उसले आमाको शरीरको च्यातिएको कपडा सिलाउन त सकेको थिएन। नयाँ फेर्ने कुरा त परै जाओस् । काला धर्सा अनुहारभरि पोतिएका थिए। दुःख र पीडाको चाङ लागेको थियो। न त अहंकारलाई पखाल्न सकेको थियो तैपनि अन्तिम सास फेर्दै थियो।
यस्तो अवस्थामा आमाको सपना बिपना बन्ने कुरो त कल्पनासमेत गर्न सकिँदैनथ्यो।
यता नयाँ वर्षले हिजोका दिनमा आमाले खेप्नु परेका चुनौतीहरूलाई परैबाट देखेको थियो। शान्त तर अटल भएर घरभित्र प्रवेश गर्न खोज्दै थियो; आमाको अनुहारमा देखिएका विकृतलाई पखाल्न आइरहेको थियो; आमालाई समृद्ध बनाएर रामराज्य कायम गर्ने आश्वासन दिँदै पनि थियो।
आमाले सन्देह गर्दै भनिन् – तँ पनि शुभारम्भका बेला मात्रै त होला नि चिल्ला र चिप्ला कुरा गर्ने। पछि तेरो पनि उही ताल त होला नि।