माता औँसी

मातातीर्थ कुण्डमा भक्तजन काठमाडौँ, १४ वैशाखः मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनहरुको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात यहाँ भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर: हरिराम भेटुवाल/रासस


शान्ता तिम्सिना
भक्तपुर

“सात बजिसक्यो छिटो उठ न ! मैले त नुहाइसकेँ ।” सानुले भनी।
किन उठ्नु र ? बल्ल छुट्टी भएको छ , म त उठ्दिन ।” ऊ सिरकले मुख छोप्दै अर्कोतिर फर्की।
“आज औँसी , आमाको मुख हेर्ने दिन छिटो तयार पर है ! हामी पनि जानुपर्छ ।” सानू र ज्ञानु एउटै कोठामा बस्थे।
भर्खरै आमा गुमाएकी ऊ , निक्कै तनाबमा थिइ । साथीको त्यो वाक्यले उसको मनमा भक्कनो फुट्यो।
सानुको अनुहारमा अघिल्लो दिनबाट खुसी छाएको थियो तर ज्ञानु तनाबमा थिइ।
“के भयो ? किन रोएकी ? ” आत्तिदै आएर उसले सोधी।
“मेरी त आमा नै हुनुहुन्न अनि कहाँ जानू !” तिमी जाऊ न !” उसले आँसु पुछ्दै भनी।
“तिम्रो आमा हुनुहुन्न, मलाई थाहा छ त यार ! मेरो आमा पनि त हुनुहुन्न नि !” रोएर हुन्छ त ? संसार यस्तै हो ! जन्मेपछि सबैले मर्नु पर्छ । उसले सान्त्वना दिँदै भनी।
“त्यसो भए कसको मुख हेर्न जान लागेकी त !” उसले अचम्म मान्दै सोधी।
“भान्सामा चिया तयार भैसक्यो , छिटो उठेर नुहाउने काम गर त !” मातातिर्थ मन्दिर जानुपर्छ।
“त्यहाँ गएर आमाको मुख देखिन्छ र ?” उसले फेरि निराशा प्रकट गरी।
“आमा नहुनेहरु सबै त्यहाँ जाने रहेछन् । हिजो , पल्लो घरकी आमाले भन्नु भएको , अझ त्यहाँको पोखरीमा हेर्दा त आमाकै अनुहार देखिन्छ रे ! मलाई त मेरी आमा कस्ती हुनुहुन्थ्यो थाहै छैन।”
उसले आमाको रुप हेर्न उत्सुक भएको कुरा पनि बताइ।
“ओहो! साथीको पीडा त झन् ठूलो रहेछ तर पनि ऊ खुसी छे। सधैँ तनाब लिएर के काम ? सकारात्मक पो सोच्नु पर्ने रहेछ।
“सोच्दा सोच्दै एक्कासी, उसले साथीको अनुहारमा आफ्नी आमाको स्वरुप देखेर जुरुक्क उठी।