
विष्णु भण्डारीआचार्य
बेलबारी ८ मोरंग
एकजना शिक्षक साह्रै खरो स्वभावका हुनुहुन्थ्यो, विद्यार्थीकाे नजरमा निर्दयी पनि। कक्षामा पस्दा हातमा एउटा मोटो लट्ठी टुट्दैनथ्यो । उहाँले भने बमोजिम पाठ नबुझाएमा वा गृहकार्य पूरा नगरेमा बुझे हुन्थ्यो आज त्यस विद्यार्थीको धुलाइमार दह्रै हुनेछ । नबुझेको सोध्न त परैको कुरा, शिक्षक कक्षाकोठाभित्र प्रवेश गरेपछि होस् या बाहिर सामुन्नेमै पर्दा होस् , विद्यार्थीहरु थर्कमान हुन्थे डरले तर उहाँ स्कुलमा विद्यार्थीको सामु जति कडा दरिनुहुन्थ्यो त्यति आफ्नो घरमा र अन्य ठाउँमा त्यसको विपरित , नरम स्वभावका लाग्थ्यो । एकदिन उहाँलाई कक्षामा लट्ठी लिएर पसेता पनि पढाउन मन भने नलागेको अवस्था भएछ । विद्यार्थीलाई ब्यस्त राख्नैपर्याे । सेतोपाटीमा एउटा प्रश्न दिएर लेख भन्नुभयो ।
प्रश्न– तिमीहरू पछि ठुलो भएर को को केके के बन्न चाहान्छौ ? सबै विद्यार्थीले लेखेर देखाए । सरले हेर्दै नाम अनुसार बोलाउदै दिदै गर्नुभयो । कसैले पुलिस लेखे ,कसैले डाक्टर, कसैले के, कसैले के । एउटा कपी अन्तिममा राख्नुभयो सुसान्तको रहेछ, उसको त्यो लेखाइ हेरेर सर निकै भावुक बन्नुभयो, हेरिरहनुभयो सुसान्तलाई एकछिन सम्म एकोहोरिएर । आफ्नी भरखर जन्मेकी सानी नातिनीको कोमल शरीर ती कलिला हातखुट्टा सम्झिदै आँखा रसिला पार्नुभयो । उसले जवाफमा लेखेको थियो – ‘सर म त ठूलो भएपछि टिचर बन्न चाहन्छु, टिचर भएर सरका नातीनातिनालाई पढाउनेछु र पढाउँदा हातमा लट्ठी बोकेर जानेछुइन । नतर्छाइ, नथर्काइ, सार्है माया दिएर पढाउनेछु ।’ तत्कालै ती शिक्षकको हातमा भएको मोटो लट्ठी झ्यालबाट फुत्त बाहिर फ्याँकियो तर एक छिनको लागि नभएर सदाका लागि ।