अपाङ्ग शिष्य


रोजिना घिमिरे

अहो, यो कस्तो अँध्यारो रात !
बाहिर मङ्सिरको चिसो हावा सर्रर बहँदै मेरो यो झ्याललाई चिमोट्छ, तर मेरो हृदयभित्रको आँधी त्योभन्दा कैयौं गुणा तीव्र छ, मेरो प्यारो प्रकाश !
आज अपाङ्गता दिवस, र यो एक्लो बैठक कोठामा आज फेरि तिमीले छोडेर गएको त्यो खाली कुर्सी नियालिरहेको छु। बाहिर झरी परिरहेको छ, सायद यो प्रकृति पनि आज मेरो हृदयको वर्षासँगै रोइरहेको छ। अँध्यारो कोठामा मधुरो दियोको प्रकाशमा तिम्रो अनुपस्थिति यति धेरै खल्लो लाग्छ कि, लाग्छ – मेरो जीवनको सम्पूर्ण ज्योति नै कतै हरायो।
रेडियोमा तिम्रो ओजपूर्ण वाणी गुन्जिरहेको छ— “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन”। यो भाषण सुनेर आज फेरि मेरो हृदय भावविह्वल भइरहेको छ। तिम्रो आवाज सुन्दा मलाई लाग्छ, तिमीले केवल आफ्नो समुदायका लागि मात्र होइन, समग्र मानवजातिको चेतनाका लागि बोलिरहेका छौ।
मलाई सम्झना छ, तिमी पहिलो दिन यो आश्रममा लठ्ठी टेक्दै, थरथरी काँप्दै, तर आँखाहरूमा ज्ञानको अदम्य तिर्खा बोकेर आएका थियौ। समाजले तिमीलाई ‘अपाङ्ग’ को बिल्ला भिराएर, तिम्रो शारीरिक सीमालाई मात्र देखेर पटक-पटक फर्काएको थियो। तिमीलाई हिँड्न गाह्रो हुन्थ्यो, हातहरूले छिटो लेख्न सक्दैनथे, तर मेरा ई आँखामा तिम्रो आत्मामा प्रज्वलित त्यो अग्निको लप्का स्पष्ट देखिएका थिए।
“अरूले तिम्रो खुट्टा देखे, मैले तिम्रो गन्तव्य देखेँ। अरूले तिम्रो हातको कम्पन देखे, मैले तिम्रो अन्तस्करणको संकल्प देखेँ।”
त्यतिबेला मैले संकल्प गरेँ – म यो संसारलाई देखाउनेछु कि अपाङ्गता शरीरमा मात्र हुन्छ, विचारमा होइन, चेतनामा होइन। तिमी मेरा लागि ‘शिष्य’ मात्र थिएनौ, तिमी त मेरो जीवनको सबैभन्दा ठूलो चुनौती र गर्व थियौ। मैले जब तिमीलाई यहाँ बस्न अनुमति दिएँ, तिमीले मेरो खुट्टा समातेर भक्कानिएका थियौ। त्यो रुवाइ केवल एक बालकको थिएन, त्यो त लाखौँ उपेक्षित आत्माको मौन बिद्रोह थियो।
याद छ, तिमीलाई ‘वेद’ का कठिन श्लोकहरू कण्ठ गर्न कति गाह्रो हुन्थ्यो? तिमी दिनभरि एउटै ठाउँमा बसेर, हातमा लिएको पुस्तकको अक्षरहरूलाई प्रेमले छामेर घण्टौं मनन गर्थ्यौ। तिम्रो ओठबाट निस्किएको प्रत्येक शब्द, तिम्रो मननबाट उब्जिएको प्रत्येक प्रश्न, सामान्य विद्यार्थीको भन्दा हजारौं गुणा गहिरो हुन्थ्यो।
अरू विद्यार्थीहरू जब मैदानमा दौडिरहेका हुन्थे, तिमी कुनामा बसेर ‘व्याकरण’ का सूत्रहरू कण्ठ गर्थ्यौ। तिमीलाई हिँड्न गाह्रो हुन्थ्यो, त्यसैले तिमी बाहिरको कोलाहलबाट टाढा, एउटै आसनमा घण्टौँसम्म ध्यानस्थ बस्थ्यौ। तिम्रो शारीरिक पीडा म स्पष्ट देख्न सक्थें, तर म जानी-जानी मौन बस्थें। किनकि मलाई थाहा थियो— तिम्रो त्यो पीडा नै तिम्रो सबैभन्दा ठूलो शक्ति बन्नेछ, तिम्रो मानसिक ऊर्जाको स्रोत बन्नेछ।
जब तिम्रो हात काँपेर अक्षरहरू धमिलिन्थे, तिमी किताबलाई आफ्नो छातीमा टाँसेर बस्ने गर्थ्यौ। तिम्रो हरेक सङ्घर्षले मलाई भन्थ्यो— समावेशीकरण त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो सङ्घर्षबाट हामीलाई सिकाउने पाठ हो! तिमीले हामीलाई समावेश हुन सिकायौ, प्रकाश !
“गुरुदेव, आज मेरो शारीरिक अपूर्णताले मेरो हृदयको पूर्णतालाई जित्यो।”
तिमीले मलाई सिकायौ, गुरु हुनुको अर्थ के हो। तिमीले मलाई बुझायौ कि शिक्षा भनेको केवल साक्षरता दिनु होइन, यो त ‘अपाङ्गता समावेशी’ चेतनाको निर्माण गर्नु हो।
तिमीले जब संस्कृत भाषाको राष्ट्रिय प्रतियोगितामा भाग लियौ, मलाई सम्झना छ। मञ्चमा लठ्ठी टेकेर उभिँदा तिमीलाई हेर्ने आँखाहरूमा दया र उपेक्षा दुवै थियो। तर, जब तिम्रो ओठबाट संस्कृतका शुद्ध, ओजस्वी र भावपूर्ण वाणीहरू निस्किए, त्यहाँ उपस्थित सबै मानिसहरूले आफ्नो टाउको निहुराए। तिम्रो ज्ञानको अगाडि, तिम्रो ‘अपाङ्गता’ एक क्षणमा अर्थहीन भयो। तिमीले केवल प्रतिस्पर्धा जितेनौ, तिमीले त त्यहाँ उपस्थित हजारौं मानिसहरूको अन्धो दृष्टिकोणमाथि विजय प्राप्त गर्यौ!त्यो दिन म मञ्चको पछाडि उभिएको थिएँ। मेरो आँखाबाट आँसु बगेका थिए। ती आँसु ‘विजयको’ मात्र थिएनन्, ती त यो समाजले तिमी जस्ता प्रतिभाहरूलाई दिने असह्य पीडाको मुक्तिको अनुभूति पनि थियो।
तिम्रो विदाईको दिन सम्झिँदै छु… जब तिमीले यहाँबाट बिदा लिँदै गर्दा, टाउको निहुराएर मेरो खुट्टा छोयौ, तिम्रो हातको त्यो स्पर्शमा केवल आशिर्वादको भोक थिएन, एउटा अटल प्रतिज्ञा थियो – यो समाजलाई तिमीले बदलेरै छाड्नेछौ। तिम्रो त्यो ‘निर्भीक’ आत्मविश्वास देखेर मेरा आँखाबाट आँसु रोकिएनन्। ती आँसु केवल बिछोडका थिएनन्, ती त एक क्रान्तिकारी शिष्य प्रति गुरुले देखाएको अपार श्रद्धाका आँसु थिए।
तिमीले आश्रम छोड्नुभन्दा अघि तिमी मेरो कोठामा आयौ। तिमीले मेरा पुराना, खिया लागेका जुत्ताहरूमा धुलो लागेको देखें। तिमी चुपचाप बस्यौ, अनि आफ्नो हातले एउटा सफा कपडाले ती जुत्ताहरू सफा गर्न थाल्यौ।
“गुरुदेव, तपाईँले मलाई यो जुत्ता टेक्ने ‘मार्ग’ दिनुभयो, आज म ती जुत्ताहरूको धूलो सफा गर्न चाहन्छु।”
मेरो हृदय च्यातियो, प्रकाश! मेरो घाँटी अवरुद्ध भयो, म केही बोल्न सकिनँ। जब तिमी बाहिर निस्कियौ, तिम्रो कमजोर शरीरले समाजको त्यो विशाल मैदानमा एक्लै पाइला चाल्दै थियो। तर, तिमीले पछाडि फर्केर मलाई हेर्यौ। तिम्रो त्यो हेराइमा जुन अटल आत्मविश्वास थियो, त्यसले मेरो मनबाट सारा डरहरूलाई पखालिदियो। त्यो हेराइले भन्यो— “गुरुदेव, मैले तपाईंको ज्ञानको ‘प्रकाश’ पाएको छु, अब म अँध्यारोसँग डराउँदिन।”
आज तिमीले समाजमा जुन स्थान पाएका छौ, ठूला-ठूला मञ्चबाट तिम्रो ओजपूर्ण वाणी निस्किँदा, जब तिम्रो नामको जयजयकार हुन्छ, तब म यो कुनाबाट तिमीलाई हेर्छु र मनमनै भन्छु, “मेरा प्रकाश, तिमीले गर्यौ! तिमीले केवल आफ्नो जीवन बदलेनौ, तिमीले त समग्र समाजको दृष्टिकोण बदल्यौ।”
तिमीले प्रमाणित गर्यौ, समाजको वास्तविक उन्नति तब हुन्छ जब उसले आफ्नो कुनै पनि सन्तानलाई अपाङ्गताको नाममा पछि छोड्दैन। तिमीले अपाङ्गतालाई ‘दया’ वा ‘करुणा’ को विषयबाट हटाएर ‘क्षमता’ र ‘अधिकार’ को विषय बनाइदियौ। तिमीले समाजलाई बुझायौ कि शारीरिक भिन्नता कमजोरी होइन, यो त मानव विविधताको सौन्दर्य हो। संवर्द्धनको अर्थ नै समावेशीकरण हो!
प्रकाश ! तिम्रो यो महानताले मेरो गुरुत्वलाई स्वर्गभन्दा माथि उठाएको छ। आज जब मानिसहरू मलाई ‘प्रकाशको गुरु’ भनेर चिन्छन्, मेरो हृदय गर्वले मात्र होइन, असीम कृतज्ञताले भरिन्छ।
आज यो कोठामा बसेर, तिम्रो त्यो खाली कुर्सीलाई अँगालो हालेर, म रोइरहेको छु। यो रोदन खुशीको हो, गर्वको हो, र अलिकति तिम्रो यादको पनि हो। मलाई थाहा छ, तिम्रो कर्मले मेरो गुरुत्वलाई सार्थक बनायो।
मेरो जीवन धन्य भयो, प्रकाश !
(गुरुले लामो सास फेर्दै, हातमा शिष्यको पुरानो किताब च्यापेर भक्कानिँदै, अनियन्त्रित आँसुहरू बगाउँछन्। उनको जीवनको सम्पूर्ण सन्तुष्टि, गर्व, र बिछोडको पीडा एकैसाथ आँसु भएर बग्छन्।)