अर्को स्कुल

आत्माराम न्यौपाने
भोजपुर

हिप हिप … हुर्रे !
हिप हिप … हुर्रे !
दिनाङ्क … हुर्रे … ! दिनाङ्क … हुर्रे !
पालिकाको मा. वि. स्तरीय छेलो प्रतियोगितामा कक्षा आठका दिनाङ्क नेपालले यही आवाज सुने दिनभरिका तीनैवटा इभन्टमा ।
दह्रा पनि थिए र साथीभाइ एवम् सर मिसहरूको हौसलाले तीनवटै चरणमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि । अब एक चरण पार गर्ने बित्तिकै उनी अन्तिम चरणमा पुग्ने पक्का थियो । त्यसपछि त उनी जिल्लास्तरीय प्रतियोगितामा !
हामीसँगै मैदानको वल्लो छेउमा बसेकोबेला दिनाङ्कले पसिना पुछ्दै सुनाए, `त्यो सुमनलाई त म मजाले हराइहाल्छु नि !´
हामीलाई पनि पूर्ण विश्वास थियो उनमा । पोहोर पनि हराएका थिए ।
दश मिनेटको विश्राम न हो, एकै छिनमा सकियो । दिनाङ्क उठ्नेबित्तिकै फेरि मैदानभरि सुनियो :
दिनाङ्क … हुर्रे … ! दिनाङ्क … हुर्रे !
… जय श्रीराम … !!! ढक्क … !
पन्ध्र इन्चले उछिने उनले सुमनलाई ।
भोलिपल्ट बेलुका दिनाङ्कले स्कुलबाट आएर आमालाई सुनाए, `आमा ! म अर्को वर्ष अर्को स्कुलमा पढ्छु है । हाम्रो हेडसर अर्कै धर्मको हुनुहुँदो रहेछ । मैले जय श्रीराम … भनेको मन परेनछ उहाँलाई । जिल्लामा भाग लिन अर्कैलाई पठाउने रे !´