“अर्ती”


नानि भारद्वज
विराटनगर, मोरङ्ग

” कहाँ पुगेर आउनुभो बुवा ?”
” तिम्रो विद्यालय पुगेर आएको बाबू!”
” के भन्नुभयो त सरमेमहरुले ?”
” राम्रै भन्नुभयो।”
” कस्तो राम्रो, भन्नु न !”
नातिलाई हजुरबुवा विद्यालय पुगेर आएपछि शिक्षक शीक्षिकाले आफ्नो विषयमा गरेका टिप्पणी सुन्न हतार भयो। त्यसैले उनले एक पछि अर्को प्रश्न गर्नथाले।
उहाँहरुले तिम्रो लब्धाङ्कपत्र देखाउँदै भन्नुभयो ,नाति त हजुरको साह्रै राम्रो तर बानी चैँ अलिकति सुधार गर्नुपर्छ नत्र उस्को भविष्य अन्धकार छ।”
” के सुधार गर्नुभने बुवा ?”
” तिमीले मोबाइल खेलाउन छोड्नुपर्ने भयो।”
” मैले मोबाइल चलाकोमा चैँ किन जलेका होलान्!”
” जलेका होइनन् पढाइमा सुधार ल्याउन पो त्यसो भनेका हुन् त !”
“यी उहिलेका माष्टरमाष्टर्नीको बुद्धि पनि खुइलेछ।”
” त्यसो नभन गुरुगुरुमालाई !”
“अहिलेको जमानामा मोबाइल नखेलाएर के खेलाउनु त !”
” त्यसो होइन बाबू, तिम्रो पढाइ सानोमा राम्रो थियोे मोबाइल चलाउन थालेपछि खस्केको छ।”
“म मोबाइल बिना बाँच्नै सक्दिन।”
हजुरबाको मायाको स्वर प्रस्फुटन भयो ,”त्यसो नभन बेटा,
अहिलेको गतिविधिले भविष्यलाई प्रभाव पार्दछ।”
” यहाँ समय बिताउन कत्ति गाह्राे छ भविष्यको चिन्ता!”
” समय कटाउन त बाहिर चौरमा हिंडडुल,शारीरिक ब्यायामहरु गर्नुपर्छ ,गाउँघर डुल्नुपर्छ ,कोठामै बसिरहँदा कयौं रोग लाग्नसक्छन्।”
” पछिको कुरा छोड्नू।”
“हेर बाबू, दुई वर्ष पछि एसइइ दिनुपर्छ,त्यस्मा राम्रो नतिजा ल्याएनौ भने साच्चिकै भविष्य उज्ज्वल हुनेछैन।”
“अति नै भन्नू भो,म हजुरले भनेको मान्छु तर हजुरले पनि मेरो कुरा मान्नुपर्छ नि !”
“हुन्छ, के हो भन ।”
” हजुरको पनि मोबाइल चलाउने बानी सुधार्नुपर्छ।”