प्रयास 


सुमन कडरिया
चितवन

सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले आफूभन्दा कैयौँ गुणा ठूलो किरा तान्दै थियो। उसले अचम्म मान्दै आँगनमा फूल रोपिरहेकी आमालाई बोलायो र भन्यो— “आमा, यहाँ हेर्नुस् त ! यो सानो कमिलाले यत्रो ठूलो किरा कसरी तानेको होला ?” आमा मुसुक्क हाँस्दै नजिक आउनुभयो र कमिलाको क्रियाकलाप हेरी प्रतिक्रिया दिनुभयो – “ बाबु , कमिला सानो छ, तर यसको हिम्मत ठूलो छ। यसले काम गाह्रो भयो भन्दै पछि हट्दैन। एकपटक नसके फेरि प्रयास गर्छ। एक्लै नसके साथीहरूलाई बोलाउँछ तर काम पूरा गरेरै छाड्छ।” सागिर्दको पूरा ध्यान कमिलामा थियो। केहीबेरपछि किरा एउटा ढुङ्गाको छेउमा अड्कियो। कमिलाले जति ताने पनि सकेन।  उसले अरू कमिलाहरूलाई पनि बोलायो। धेरै कमिला आएर जोड लगाए। अन्ततः त्यो किरा गुँडसम्म पुग्यो। सागिर्दका आँखा चम्किए। उसले आमातिर हेरेर भन्यो— “आमा, सानो भएर हारिने होइन रहेछ ।”