
सुधिर थापा
छन्द :- झ्याउरे लयमा
असारे मास दब्दबे हिलो रोपार बीउ रोप्ने
मानो रोपेर मुरी फलाई किसान दाउ छोप्ने
नारेर गोरु छेउ र कुना हिलो छ छपक्कै
रोपार गउछन् असारे भाका स्वर झिकि टपक्कै
बाउसे गर्छन् बाउसेहरू झार त्यो जिलाई
आलीमा मास रोपेर हिड्ने उस्तै छ मिलाई
दर्केर पानी बर्सायो कस्तो छोपेर कुहिरोले
धमिलो खोला बनायो फेरि काली भीर पहिरोले
असार पन्ध्र खाने दही चिउरा साउन पन्ध्र खीर
यो साल खेत रोपियो सानी रहेन मनमा पीर
गोडाैँला झार महिना पछि मल त्यो हालाैला
ढिस्का र ढिस्की लडेछन् भने खनेर फालाैला
गुन्द्रुक रोटी क्या मीठो खाजा मिलेर खाँदा यो
मेलो त्यो सकी फुकाई गोरु खुसी छन् जाँदा त्यो
उकाली लाग्दा खाएर खाजा रोपार गाउँदैछन्
घुमबोकी पछि उकाली लाग्दै घर धनी आउदैछन्
गलामा माला सुहायो कस्तो धानको उनेर
मरेछ थकाइ उकाली लाग्दा मीठो गीत सुनेर
गाउँ र बेसी गर्दैछाैँ हामी मेला पात गरेर
खुसी नै हो यो मिलेर बाड्ने के लान्छाैँ मरेर।





