आठमार्च

 


सत्यजीत
ललितपुर

“नारी दिवस भव्य र सभ्य रूपमा मनाऔँ ! हाम्रो संस्कृति र पहिचान जोगाऔँ!”
होटलको हलमा टाँसिएको ठूलो ब्यानरले उद्घोष गरिरहेको थियो।
हल भव्य रूपमा सिँगारिएको थियो। मखमली कुर्सी, झिलिमिली बत्ती, सुगन्धित हावा- सबथोक ठाँटिएकोे थियोे। सम्भ्रान्त महिलाहरू महँगा पहिरनमा सिँगारिएर आकर्षक पोजमा तस्बिर खिचाउँदै थिए। मंचमा उभिएकी प्रभावशाली महिला वक्ताले ओजस्वी स्वरमा भनिन्, “हामी नारीहरू अब स्वतन्त्र छौँ, सक्षम छौँ! हाम्रो अधिकार कसैले रोक्न सक्दैन!”
त्यही बेला, होटल बाहिर सडकपेटीमा केही श्रमिक महिलाहरू “अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस” लेखिएको व्यानर बोकेर भेला भएका थिए। तिनीहरू थकित देखिन्थे- कोही गाडाको आवाजसँगै धुलाम्मे सडकतिर हेर्दै, कोही हातमा पुराना झोला च्याप्दै बसेका थिए।
एउटी श्रमिक महिलाले थकित मुन्द्रामा भनिन् “आज त हाम्रो पनि दिवस रे, तर बेलुकीको चुलो निभ्यो भने के गर्ने?”
अर्कीले गम्भीर मुन्द्रामा भनिन,”हामीलाई कुनै मञ्च चाहिँदैन, यही धुले सडक नै काफी छ। हाम्रा हातका चाउरी र पैतलाका फोका नै हाम्रो इतिहासका दस्तावेज हुन्!”
होटलको कार्यक्रम सकियो। सभ्रान्त महिलाहरूले मिठो भोज खाए, सेल्फी खिचे। कारको झ्यालबाट कतिपयले सडकपेटीतिर केहीबेर हेरिहेरे। उता, श्रमिक महिलाहरू भने गीत गाइरहेका थिए-
हामी श्रम गर्छौँ, हामी दुःख सहन्ह
म्रो इतिहास पसिनाले लेखिरहन्छौँ!

हामी अटल छौँ, अघि बढिरहन्छौँ,
अब हामी नयाँ बाटो खोलिरहन्छौँ!
त्यो आवाज एकक्षण उनीहरुका कानमा गुन्जियो, तर उनीहरू चुपचाप कारमा बसिरहे।
होटलको व्यापार, फोस्रा भाषण, विलासी जीवन, र सडकपेटीको भोगाइ एवं कठोर यथार्थबीच आठमार्च फेरि पनि विभाजित रह्यो।