
आचार्य प्रभा
म सधैँ झैँ बिहानको चुल्हो चौकाको काममा व्यस्त थिएँ। घरमा मान्छेको आउजाउ त भई रहन्छ नै। कसैलाई पानी दिनु पर्छ, कसैलाई चिया, कफी। यो क्रम जारी भई रहन्छ। यत्तिकैमा घरमा आई रहने मिस्त्री आयो। उसलाई पनि हत्तारकासाथमा चिया दिएँ।
सधैँको मेरो हतारो देखेर उसले भन्यो।-“आण्टी तपाईँलाई मान्छे चाहिन्छ ?” भनेर।
“किन केकोलागि? मान्छे सोध्यौ” भनेर मैले सोधेँ।
उसले जवाफमा भन्यो।—“म सधैँ तपाईँलाई व्यस्त देख्छु। मान्छेहरू आई रहन्छन् । कसैलाई चिया,कसैलाई पानी कुदेर दिनु हुन्छ। फेरि उनीहरूसँग कुराकानी पनि गर्नु पर्यो अनि पकाउँने काम पनि। यति ठुलो घर साफ़,सफ़ाई पनि गर्नु पर्ला!”
मैले जवाफमा भनेँ-“बाबु,हामीले आत्मनिर्भर भएको देशको दानापानी खाएर आयौँ । हामीलाई त्यो देशले यस्तै शिक्षा दियो जुन “आत्मनिर्भर बन,पर निर्भर नबन ।” भन्ने हो त्यसैले हामी आफ्नो काम आफैँ गर्छौँ।”
ऊ चुपचापसँग बस्यो ।
मैले फेरि थपेँ ।-“ तिमी हिजोसम्म आफैँ लेबरको काम गर्थ्यौ तर अहिले अरूलाई अह्राएर खान्छौ। तिम्रो कामको अनुभव पो बढ्यो त! तिमीले कामै गर्नु हुन्न भन्ने के छ ? तिमीले फेरि ती लेबरहरूसरह आफैँ पनि काम गर्न सक्दैनौ र ? किन आफूलाई अशक्त झैँ बनाउँछौ ? सकुन्जेल पाखुरी चलाउँने हो। नसक्दा मात्र परनिर्भर हुने हो। हाम्रो सिद्धान्त यस्तै हो। कुरा बुझ्यौ नि!” ऊ नतमस्तक बन्दै -“कुरा त ठिक हो हजुर।” भन्दै बाहिरियो।





