
रोजिना घिमिरे
श्रावणको सुरुवातसँगै गाउँमा पानीको शीतलता छरिएको थियो। आकाश बादलले ढाकिएको थियो, मानौँ आकाशले पनि आज कुनै विशेष दिनको प्रतीक्षा गरिरहेको होस्। गाउँको सानो विद्यालय, जुन टिनको छानामुनि, पुराना इँटको भित्ताभित्र अझै पनि सच्चा शिक्षाको सुगन्ध फैलाउँछ, आज केही बढी सजिएको थियो। फूलले सजिएको मूल द्वार, विद्यार्थीहरूको हातले बनाइएका रंगीन कार्डहरू, र कालोपाटीमाथि ठूला अक्षरमा लेखिएको थियो, “गुरु पूर्णिमा विशेष कार्यक्रम।” शिक्षकहरूको अनुहारमा सामान्य दिनभन्दा फरक चमक थियो, तर तीमध्ये एकजना सन्दीप सर— को आँखामा कुनै उत्सवको चमक थिएन। उनी केही गम्भीर देखिन्थे। बीसौं वर्षदेखि विद्यालयमा अध्यापन गरिरहेका सन्दीप सरको अनुहारमा गहिरो थकान र ओझेलिएको हाँसो थियो। त्यो हाँसो जुन उनका प्रिय छात्रा अन्वीले छोडेर गएको दिनदेखि हराएको थियो। अन्वी— तेजस्वी, संवेदनशील र अनुशासित बालिका— जुन सात वर्षअघि कक्षा ८ पास गरेर काठमाडौं गएकी थिईन्। सरले भनेका थिए, “तिमी आकाशजत्री बन, अन्वी। तर कहिल्यै आफ्नो जग भुल्नु हुँदैन।” त्यो दिन उनले उपहारमा एउटा डायरी दिइन्, जसको पहिलो पानामा लेखिएको थियो, “प्रिय सर, म एक दिन तपाईँलाई फेरि भेट्न आउनेछु, जब मेरो जीवनको सबैभन्दा ठूलो उपहार मसँग हुनेछ।” त्यसपछि अन्वी सम्पर्कमा रहिनन्। केही पत्रहरू आए, केही खबरहरू पनि, तर भेट हुन सकेन। आजको गुरु पूर्णिमाको कार्यक्रम अघि बढ्दै थियो। विद्यार्थीहरूले कविता वाचन गरे, केहीले नृत्य प्रस्तुत गरे, अनि अन्त्यमा प्रधानाध्यापकले माइक समातेर भने, “हामीसँग आज एक विशेष अतिथि हुनुहुन्छ। उहाँ एकजना पूर्वविद्यार्थी हुनुहुन्छ, जसको जीवनमा आज जुन स्थान छ, त्यसमा हाम्रा आदरणीय सन्दीप सरको ठूलो योगदान छ।” स्रोतामाझ सन्नाटा छायो। मञ्चमा हल्का गुलाबी सारीमा, आँखा रसाइरहेकी एक महिला अघि बढिन्— उनी थिइन् अन्वी। सन्दीप सर स्तब्ध भए। आँखा फस्रिए, ओठ काँप्न थाले। अन्वीले गुरूलाई झुकेर ढोग गरिन् र आँखा भिजाउँदै भनिन्, “सर, तपाईँले मलाई जुन सपना देख्न सिकाउनुभयो, आज म त्यो सपनामा बाँचिरहेकी छु। म एक चिकित्सक बनेँ। तर आज म तपाईँलाई त्यो उपहार दिन आएकी छु, जुन मैले सात वर्षअघि वाचा गरेकी थिएँ।” उनले पछाडि फर्केर नानीको हात समातिन्। “उ मेरो छोरी ‘श्रुति’ हो। आज उसलाई तपाईँको काखमा राख्न आएकी छु, किनभने म चाहन्छु ऊ पनि तपाईँबाट जीवनका असली पाठहरू सिकोस।” सन्दीप सरको आँखाबाट अविरल आँसु बग्न थाल्यो। उनले श्रुतीलाई अँगालोमा लिँदै भने, “यो मेरो जीवनको सबैभन्दा ठूलो उपहार हो— तिमी फर्कियौ, र तिमीले तिमीभन्दा ठूलो मूल्य मान्यताको परिचय दियौ।” सबै उपस्थित शिक्षक, विद्यार्थी, र अभिभावकहरू भावुक थिए। कार्यक्रमपछि, सन्दीप सरले त्यो पुरानो डायरी खोले, जुन आज पनि उनले झोलामा राखेका थिए। अन्वीले नयाँ पत्र जोडिन्— “शिक्षकको ऋण साँचो अर्थमा तिर्न सकिंदैन, तर आजको यो उपहार मेरो श्रद्धा हो, मेरो समर्पण हो। तपाईंबिनाको मेरो यात्रा अधूरो हुन्थ्यो।” त्यो दिन गुरु पूर्णिमाको कार्यक्रम मात्र थिएन, त्यो दिन एउटा युगको मिलन थियो। जहाँ एउटी छात्रा फर्केर आइन्, गुरुमा अर्पण गर्न आफ्नै जीवनको अंश। गुरु पूर्णिमा त्यो दिन साँच्चै पूर्ण बन्यो।





