कर्तव्यबोध


अन्जु शर्मा
रातोपुल

साँझ झमक्क परेको छ। उसका अस्थिपन्जरहरू टुट्न आँटेका छन्।
गहभरि आँसु पारेर उसले टुप्पोतिर हेर्यो। मुनाहरू लहलह गरेर झुल्दै थिए। उसलाई पनि ती कलिला मुनाहरूसँग खुशी मनाउने अदम्य रहर जाग्यो । उसले रूखलाई सोध्यो ” हजुरले जन्म दिए पनि मलाई हजुर भन्दा अगाडि किन पठाउनु हन्छ ? मलाई पनि मुनाहरू सँग खेल्ने रहर छ।
रूखले लामो श्वास फेरेर भन्यो ” बाबु उ त्यो आकाशको के हो भन त ?”
“चन्द्रमा”।
“सूर्य खोइ त?”
“चन्द्रमालाई ठाउँ छोडेर गए। तब न रातपनि उज्यालो भयो ।” पातले यथार्थ पस्किने प्रयास गर्यो।
उतिबेलै उत्तरतिरबाट चिसो हावा बग्यो। पहेलो भएको पातले रूखलाई छोडेर निकै पर गएर डङ्रङ्ग पछारियो। उक्त हावाको लपेटामा मुनाहरूलहरिँदा रूख मुसुक्क मुस्काएर धर्तीलाई भन्यो “आमा! म कर्तव्यबाट हटेको छुइन् है!”