गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन !
शिष्यहरूलाई आशीर्वाद !

श्रीधर भण्डारी
बारबर्दिया नगरपालिका-८, बर्दिया
बिहानी घाम छरेर रश्मि संसारै उज्यालो ।
आषाढ शुक्ल पूर्णिमा दिन गुरुकै दियालो ।।
बुवा र आमा प्रथम गुरु गर्दछु नमन ।
संस्कारी आमा सङ्घर्षी बुवा बन्दछु सज्जन ।।
अर्ती र नीति हौसला दिने ज्ञानका भण्डार ।
शिक्षाको तेस्रो खोल्दिने आँखा गुरु हौ संसार ।।
मर्यादा मन्त्र असल कर्म चरित्र सुमार्ग ।
देखाई दिने धर्मका गुरु लाग्दिनँ कुमार्ग ।।
अटल अनि अविरल बन्न सिकायौ प्रकृति ।
तिमी हौ गुरु प्राणका देव गर्दछु स्वीकृति ।।
विश्वास जिती विचार भर्ने आदर्श व्यक्तित्व ।
गर्दछु सदा प्रणाम कोटि सम्झना स्थायीत्त्व ।।
प्रेमको पाठ यात्राकी रथ साथकी रागिनी ।
तिमी नि सच्चा हौ मेरी गुरु मान्दछु संगिनी ।।
सिर्जना छर्ने उत्साह थप्ने हितका सारथि ।
दिलका मित्र गुरु नै ठानी म गर्छु आरती ।।
फूल झैँ फक्री पूर्णिमा जून तेजिला नक्षत्र ।
अर्पण गर्छु गुरुत्त्व भाव चर्चा छ सर्वत्र ।।
सुन्दर मार्ग चित्रित गर्ने हजुर महान् ।
गुरु नै हाम्रो संसार हाँक्ने मुहान यै ठान ।।





