
रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती
जवानी चड्ने बेला उत्ताउलो हुँदै हिँड्यो । साथी सङ्गीको लहै लहैमा गरेको कार्य सही वा गलत पत्तो पाएन । कोही फुर्काउँथ्थे, कोही हौस्याउँथ्थे, उबद्रो गर्दै जान्थ्थो । उसले हानेको मट्याङ्ग्रो कोठाको भित्तामा ठोक्किएर बजैको निधारमा लाग्यो । आइया नि…, मार्योको शब्द उसले सुन्यो र कुलेलम ठोक्यो।
बाबाको कुटाईको डरले गर्दा घर नगै भाग्दा आज उ एक्लो हुन पुगेको छ । बाटो बाटो भौंतारिँदै, पसल पसल माग्दै खाएको राम्रै सम्झेको छ । उसलाई के फोहोर, के सफा कुनै मतलव नै थिएन । बाँच्नको लागि संधर्ष नै उसको मुख्य कर्म भएको थियो । झुत्रे, फोहोरी अनि हातमा ठुलो बोहोरा बोकेर हिड्न थाल्यो । प्लस्टिक जन्य सामाग्रीको संकलन गर्दै बिक्री गरेर ज्यान पाल्न सिकेको थियो।
उसको मिहेनत र लगन देखेर संकलित सामाग्री खरिद गर्ने साहु निकै प्रभाबित भएको थियो । जिङरिङ्ग कपाल, फाटेको कपडा लगाएको घिन लाग्दो केटो लिएर आएको देखेर साहुकी बुढीले राम्रो मानिनन् । यस्ता खातेलाई घरमा पालेर के गर्ने, भोलि मौका पर्दा टिपेर हिंड्छ । श्रीमतीको कुरा सुनेर साहुले भने, यो अरु भन्दा प्रिथक छ । यसलाई छोरा बनाएर शिक्षा दिक्षा दिएर हाम्रो ब्यबसायको मालिक बनाउनु पर्छ । भित्र बाट सफा कपडा ल्याएर दिँदै नुहाउन लगाए।
बाउन्न ठक्कर, त्रिपन्न हण्डर खाएर बल्ल वास्तबिक घर/परिवार पाएर उसले शिक्षा आर्जन गर्यो । उसको भाग्य चम्केर हो वा ती कर्म दिने बाबा/आमाले मिहेनती छोरा पाएर हो, ब्यापारमा धेरै प्रगति भयो । धन पैसा भए पछि ऊ सम्पुर्ण परिवार सहित बिदेश हानियो । अर्काको भुमि भन्दा आफ्नो जन्म थलो प्यारो भन्ने कुरा त्यहाँबाट बुझ्यो।
झलक्क जन्म घर र सहपाठी सम्झेर ऊ बाबा/आमा सहित आफ्नै देश फर्कियो । अन्दाजको भर झिनो सम्झाना लिएर ऊ जन्म घरको खोजिमा निस्कियो । उसको मानसपटलमा श्रिप “आलपाटो र बिर्खे” मात्र सम्झना छ । बिर्खेको हातबाट गुलेली खोसेर हानेको र चराको सट्टा मान्छेलाई लागेको सम्म सम्झेको छ । जन्मदाताको नाम, ठेगाना समेत बताउन नसक्दा चिन्तित भयो । कुन गाउँ, कुन ठाउँ, कुन बाटो कहाँ जाने होला भन्दै ऊ झस्कियो।





