
नेत्र प्रसाद न्यौपाने
दर्लमडाँडा , पाल्पा
“लौ न हजुर म दु:खी छु, असहाय छु, गरीब छु । भगवानको नाममा केही दिनुस्, बिहानैदेखि भोकै पनि छु ।” बस बिसौनीको छेवैमा बसेका एक भिखारी यसो भन्दै याचना गरिरहेका देखिन्छन् । कसैले खुशी पुर्वक केही दिन्थे, कसैले निधारमा गाँठा पार्दै केही दिन्थे । कोही चाहिँ छलिएर हिंड्थे । ठूलो बस बिसौनी , अनेकौँ मानिसहरूको आवागमन भईरहन्थ्यो । एक सज्जन हातमा अटैंची समेत लिएर आउँदै गरेको देखेपछि भिखारीले टाठिएर धेरै सहयोग पाउने आशामा उसैगरी याचना गरे।सज्जनले केही दिएनन्। उल्टो प्रश्न गरे -” तिमी केही दिन्छौ पनि कि माग्ने मात्रै हो? ”
” हजुर म त भिखारी मसँग के नै छ र दिनलाई , माग्छु/ लिन्छु मात्रै ।”
” तिमी दिन जान्दैनौ भने माग्ने अधिकार पनि छैन, जुनदिन दिन सिक्छौ , आफसेआफ तिम्रो दरिद्रता हट्नेछ ।” यति भनेर सज्जन बाटा लागे ।
भिखारी सोंचमग्न भए। भोलिपल्टै भिक्षा मागेको पैसाले केही फूल किनी यात्रुलाई एकएक फूल हातमा दिँदै हजुरको यात्रा शुभ रहोस् भन्न थाले । यात्रुहरूले हँसिलो मुहार बनाउँदै केही दिँदै जान्थे । आशिर्वाद र शुभकामना पाउथे । हुँदाहुँदै ती भिखारी दस बर्षमा ठूलो व्यावसायी बने ।
दस वर्षपछि तिनै पहिलाका सज्जनसँग जहाजको बिजनेस कलासमा भिखारीको भेट भयो ।





