“किसान”


मणि भट्टराई
गठ्ठाघर, भक्तपुर
हाल:न्यूजील्याण्ड

वर्षात भएन
मुख्यबाली धान रोपाईँ भएन
सँधै एस्तै हुन्छ यहाँ
हाहाकार छ यहाँ वहाँ
आकासे भरको खेती
व्याकुल जिन्दगी
सुखको बिहान
कहिल्यै उदाएन।

बग्छन् कलकल गर्दै
आफ्नै छेउछाउबाट
हजारौँ साना ठूला नदीहरू
तर
आकास तिर फर्केर
बादल बोलाउँदै
सुकेका स्वरहरु
थकित आँखाहरू
खेतमा फाटेका धाँजा जस्तै।

सूर्यको ताप सँग
सङ्घर्ष गर्दै
हरेश खाएर निराश भएक बीउहरू
सुम्सुम्याउँदै हातहरू
चसक्क विझ्दछ छातीमा
हरियो साउन
लहलहाउँदो साउन
आँखाभरि सपना पिएर
घाँटी सुकाउन बाध्य ..!

किसानको जीवन
खैरो रङ्गमा फुङ्ग परेको
भत्केको पहरा झैं अनुहार देखेर
माटो दुख्छ
तर थाहा छैन
राहत घोषणा गर्नेको
मन दुख्छकी दुख्तैन ..!

किसान आँफु मात्र जिउँदैन
ऊ सँग सबैको जीवन जोडिएको हुन्छ
सुख्खा क्षेत्र घोषणा गरेर मात्र
किसानको दुःख कम हुनेहोईन
वर्षौँ देखिको एउटै समस्या
उच्च प्रविधी बजारको कुरै छाडौं
पानी , मलखाद मैं
सरकार अल्झिएको हुन्छ
किसानको व्यथाले कहिले छुन्छ!
हेक्का रहोस्!
किसानको जीवन बर्वाद हुँदा
कसैको जीवन आवाद हुँदैन
>कसैको जीवन आवाद हुँदैन।