कुण्ठा


सुरेशकुमार पाण्डे
दाङ घोराही

“सधैँ मुख फुल्लाएको हुन्छस् के भयो ?”- ऋषिले आफ्नो छोरालाई हकार्दै भने। ” केही होइन बुबा हजुरलाई त्यस्तै लाग्छ ।” दमक ठाड्ठाडो लहेजामा बोल्यो। “होइन आफ्नो मुड सही राख्नुपर्छ नजिकै परीक्षा आएको छ।”- ऋषिले सम्झाउँन खोजे। “मलाई पनि थाहा छ भन्नु पर्दैन।”- ऊ चर्को स्वरमा बोल्यो। “- आफ्नो बाबा सँग कसरी बोलेको हँ तिमी? ठुलो सानोको कुनै फरक हुन्छ कि नाई।”- फुलीदेवीले छोरालाई हकार्दै सुस्त बोल्न भनिन्। ऊ केही नबोली दौडिएर भित्र गयो। उनीहरू दमकलाई लिएर सधैँ घरमा झगडा गर्छन्। जोइ पोईको टाक्रेटोक्रे न भएको दिन छैन। दमक जहिलेपनि रिसाएकै हुन्छ। खाना खाँदा पनि , नुहाँदा पनि पढ्दा पनि सधैँ चिच्याउँने र चिडिङ्ग गर्ने प्रायः बानी नै बसिसकेको छ। “भैगो यसलाई केही नभनौँ। किन दमक यसो गर्छ हाम्रो पर्वरिशमा केही त कमिभयो।”-ऋषिले फुलीदेवीतिर हेरे र निरास हुँदै भने। “हजुरले बढी फुल्फुल पार्नुहुन्छ नि त्यसैले हो । यो चिडचिडा भएको।यसको मनमा केछ के सधैँ मुख फुलाएको हुन्छ।”-फुलिदेवीले थपिन्। ” खै मपनि फुल्फुल पारेको जस्तो त लाग्दैन।तिमिलाई त्यस्तै लागेर हो।”-ऋषिले सफाई दिँदैभने। ” बरू एउटा कुरा भनौँ ? “-ऋषिले अनुमति मागे। “भन्नु न बाबुलाई के गरौँ जसरी यो ठिक हुन्छ ?’- फुलिदेवीले भनिन्। ” अब यो एसइइको परीक्षा पछि यसलाई एउटा राम्रो फोन किनेर दिनुपर्छ।”- ऋषिले भने। यतिवेर भित्र लुकेर कुरा सुनिरहेको दमक दौडिएर दलानमा आयो। “बाबा म ट्युशन हिँडे।”-बा आँमा दुबैलाई ढोग्यो। यतिवेला भने उसको अधरमा नयाँ प्रकारको चमक देखियो।