“खीर”

186

अन्जु शर्मा
रातोपुल

” आमा ! आज त हामी पनि खीर खाने ल”।
मुखियाको धान रोपाइँको मेलोबाट निथ्रुक्क भिजेको शरीर। त्यसमा पनि छ महिनाकी दोजिया। चार महिना देखि पति वियोगको पीडाले अक्रान्त लछ्छीलाई दुई छाकको गर्जो टार्न महाभारत थियो । उसले बिना सम्झेँबुझे छोरीलाई नमीठो गाली गरिन्।


” मुखियाको घरमा त श्रावण १५ खीर खाने दिन भनेर सबै भेला भएर खाँदै थिए। तिमी भने कहिले खीर नपकाउने।”छोरी डाको छोडेर रूँदै घर बाहिर निक्लि।
लछ्छीलाई खीर शब्द तीर झैं भयो । उनले मनमनै कुरा खेलाइन्”पहिले पनि श्रावण १५ आउथ्यो ,हुनेले खीर खान्थे,नहुनेले खान्न थे। यतिबिधि हल्ला त हुन्न थियोे नि! अहिले त फेसबुक,पत्रपत्रिका आदि सबैतिर खीरको चर्चा छ।स्कुल ,कलेज ,संघ संस्था खीर खाने दिनको उत्सव मनाउछन्। यस्ता कुराले चुलो बाल्न नसक्ने गरिबलाई कति असर परेको छ भन्ने कुरा यी धनीहरूलाई के थाहा ??
” समानताको उर्दी फुक्दै हिड्ने सरकार अनावश्यक चाडपर्वका कारण वर्गीय खाडल बढ्दै गएको पटक्कै नदेख्ने रहेछ।छोराछोरीका आँसु पुछ्न फेरि साहुकोमा हात पसार्नै पर्यो। अनि साहुको मिटर ब्याज…!! मलाई त यी चाडपर्व देखि टाढा भागु झैं भएको छ। पटुकाको फेरले लछ्छीले आँसु पुछिन्। अनि छोरीलाई काखमा राखेर संझाइन -” नानी ! तिम्रो बाबाको बर्ष दिनको काममा हामी पनि अगाँउजी खीर खाने ल “।