
शुक्रराज कुँवर
बलभद्रपथ, धरान १०
“नपिट्नु न छोरालाई । ठूलो भएको छोरालाई पनि पिट्छन् ?”
“धेरै नपुल्पुल्या ! गतिलो छ नि तेरो छोरा जति सम्झाए पनि टेर्ने होइन !”
“ब्याचलर पढदै गरेको छोरा । साथी जस्तो पो व्यवहार गर्नु पर्छ । पिटेर हकारेर हुन्छ?”
“ब्याचलर पढेर के गर्नु ? सङ्गत राम्रो छैन । चुरोट तान्दै थियो तेरो छोरा। बेलैमा डर धाक नदेखाए, पछि कुलतमा फस्न बेर लाग्दैन।”
“पछि इख लिन्छ छोराले अनि थाहा पाउनुहुन्छ।”
“राम्रो ! विष नभएको सर्प र इख नभएको मान्छेलाई कसैले टेर्दैन।”
“आखिर छोरो घर छोडेरै गयो । कसलाई पिट्नु हुन्छ अब ?”
“घर छोडेर कहाँ जान्छ ? चुच्चे ढुङगो उही टुङ्गो ,फर्केर आउँछ त्यो।”
“सतर्क…!”
छोराको विषयलाई लिएर ऊ बुढीसँग भएको गलफती सम्झँदै थियो।सैनिक कमाण्डरको चर्को आवाजले झसङ्ग भयो। सैनिक ब्यारेकमा थियो ऊ । घर छोडेर हिँडेको दुई वर्ष पछि छोरा लप्टन भएको थियो र छोराको ‘पासिङ्ग आउट ‘ परेडमा ऊ उपस्थित थियो।
छोरालाई देखेर उसको छाती गर्वले चौडा भयो। पहिले छोरालाई पिटेको क्लेश पनि मनको अन्तर कुन्तर थियो। ‘मार्चिङ्ग’ गर्दै छोरा आफैँतिर आइरहेको देखेर ऊ जुरुक्क उठ्यो । छेउमा आइपुगेर छोराले पहिले उसलाई स्यालुट गर्यो र आफ्नो शिरको आर्मी ह्याट झिकेर उसको शिरमा लगाइदियो । फेरि तिन कदम पछाडि सरेर स्यालुट गर्यो।
बाउछोरा अङ्गालो हालेर खुसीको आँशु रोए । छोराले उसको पाउमा ढोग्यो । छोरालाई अङ्कमाल गर्दै पहिले आफूले पिटेकोमा दुःख मनाउ गरे। गह आँशुले भरियो , भने ” तिमी राष्ट्रको गहना बन्यौ, बाबु !”
र …! दुबै उन्मुक्त हाँसो हाँसे।
छोराले भन्यो – ” बाउले पिटेको छोरा र सुनारेले पिटेको सुन आखिर गहना नै बन्ने हो , बुवा !”





