गुरु दक्षिणा

रचना शर्मा
नारायणगढ, चितवन

“प्रणाम गुरु !”
गुरु पूर्णिमाकै दिन पारेर तीन चेलाहरू गुरुलाई भेट्न भनेर गए। आफुलाई सम्झिएर घरसम्म भेट्न आएकोमा गुरु खुसी हुनुभयो। तीनैजनाले आफुले लगेको कोसेली गुरु समक्ष टक्र्याए ।
गुरुसँग केही समय बिताए र आ-आफ्नो व्यस्तता दर्साउँदै तीनैजना विदा भए ।
चेलाहरू गएपछि गुरुले उनीहरूले दिएको कोसेली हेर्न थाल्नुभयो । सुरुमा श्यामले दिएको कोसेलीको पोको फुकाल्नुभयो । त्यसमा उहाँको लागि घडी जुत्ता, कपडा आदि थिए । त्यो सामान जस्ताको तस्तै पोको पारेर छोरोको कोठातिर राखिदिनुभयो । त्यसपछि महेशले दिएको अर्को कोसेलीको पोको खोल्नु भयो । त्यसमा ग्लुकोज, हर्लिक्स, बिस्कुट तथा जुसहरू थिए । त्यो सामान पनि जस्ताको तस्तै पोको पारेर नातिको कोठातिर राखिदिनुभयो । अन्तिममा गोपालले दिएको कोसेली खोल्नुभयो। कोसेलीको पोको हेर्दा निकै सानो थियो, खोलेर हेर्नासाथ गुरु गद्गद् हुनुभयो । उक्त कोसेली गुरुले आफैसँग राख्नुभयो ।
अन्तिम कोसेलीको पोकोमा गोपाल स्वयंले लेखेको गुरु र शिष्य बीचको सम्बन्ध दर्शाउने कविता संग्रहको पुस्तक थियो।