
रम्भा पौडेल
“कति मोबाइल मात्र हेर्छै यो नानी।” कल्पनाले भित्रबाट खाजा तयार गरेर मीराको टेवलमा राखिदिइन। “ह्य आमा! सधैँ यो भुटेको भात खान्न।” मीराले मुख फल्दै खाजाको प्लेट पर सारी।
“हाम्रा पालामा यो भात कहाँं पाइन्थ्यो र? खाली कोदोको रोटी मात्र हुन्थ्यो। अहिलेका केटाकेटीलाई खाना धेरै भयो। आज खाजा यही हो। अण्डा मिसाएर फ्राइ गरेकी छु। मिठो छ खाऊ।”
“ह्य आमा! कति कर गरेको खान्न भनेपछि।”
“खाऊ खाऊ। खाजा टेवलमा छ।” कल्पना फतफताउदै भान्सातिर लागिन्।
मीरा अझै फोनमै घोप्टीइ रही। आफ्नो मोबाइलमा हेरेर आफै मस्त थिई। धेरैबेर सम्म हाँसेको हासेइ थिई। बाबुले भित्रबाट भने– “ए छोरी? दिनभरि तिमी स्कुलमा हुन्छौ । साँझ बिहान त यसो भान्सामा आमालाई सघाउन पर्यो नि ? खाली फोनमा मात्र झुण्डिने होइन नि? यसले त तिम्रो पढाइ पनि बिग्रने भयो।”
“बाबा! मैले त मोबाइलमा मेरो स्कुलको होमवर्क पनि हेर्छु के। गाली नगर्नृुस न।” ऊ अझै मोबाइलमा घोप्टीई रहेकी थिई। मोवाइलका एप्सहरु नजानेका बाउलाई ऊ सजिलै ठग्दै थिई । एकै छिनमा ऊ भान्सामा पसी।
“आमा ! ए आमा ! आज खाना म पकाऊ ?” “ किन छोरी ? इन्टरनेट गयो कि क्या हो ?”





