
प्राडा प्राज्ञ खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी
चरीले हेरी, अण्डाहरू हल्लिँदै छन् । उसको खुसी दुगुना भयो । ऊ बचेराका चाँचाँ चुँचुँ सुन्न आतुर थिई । ऊ पहिलोपटक आमा बनेकी थिई । उसले बच्चा कोरली । कलिला बच्चाहरू आँआँ गर्दै निक्ले । उसको मुटुको ढुकढुकी बढेर गयो । सबै बच्चालाई भुवादार पखेटाले छोपी । आमाको न्यानो माया पाएर बच्चाहरू ढुक्क भए । चरीले चैनको सास फेरी । बचेराहरू छातीमा गुजगुजाउँदा ऊ मुन्टो निहुराएर हेर्थी । बचेराको धड्कन उसकै छातीमा मिसिन्थ्यो । आमा र बच्चाको धुकधुकी एउटै हुन्थ्यो । ऊ बचेराको सुन्दर कल्पनामा डुबी । बच्चाहरू निदाई सकेका थिए । कल्पना कल्पनामै ऊ पनि भुसुक्क निदाई ।
छेउमै कतिबेला भाले आएर उङ्दै रहेछ । बिहानै ऊसँगै ब्युँझ्यो । ऊ भुर्र उडेर पल्लो हाँगामा गई । चाँचाँ चुँचुँ सुनेर भाले जिल्ल पर्यो । हर्कका आँसु झरे । हत्तपत्त मायाको ओतले ढपक्क ढाकिदियो । उसले सरप्राइज उपहार सम्झ्यो । पोथीका चुच्चामा चुच्चो मिलाएर माया साट्यो । चरी यसै गदगद थिई । भालेको खुसीले झनै दङ्गदास भई । उसले भनी, “महाशय ! अब यसरी मख्ख परेर मात्र कहाँ पुग्छ ? खाने मुख बढे । चारो लिन जानुपर्दैन ?” भाले लाजले भुतुक्क भयो । रातो मुहार लाउँदै भन्यो, “ल ल, मर्द परियो । केही न केही जुगाड गर्छु नै । एकछिन छोराछोरीसँग माया साट्न बसेको पो त ।” चरीले भनी, “अहिले तिमी जाऊ । अर्कोपटक म नि जाउँली । पालैपालो आहारा खोज्नुपर्छ । एक्लै घुँडा धस्नुपर्ला कि भन्ने नसोच ।” भाले खुसी भयो । भुर्र उड्यो ।चरी बचेरा छोपेर बसिरहेकी थिई । भाले चुच्चाभरी चारो च्यापेर आयो । उसले धन्यवाद दिई । पल्लो हाँगामा सरी । बचेरा चाँचाँ चुँचुँ गर्न थाले । भालेले पालैपालो चारो खुवायो । उसले हेरिरही । बचेरा चारो निल्दै थिए । उसलाई रमाइलो लाग्यो । भालेलाई भनी, “तिमी छोप है, म आहारा खोज्न जान्छु ।” ऊ चारो खोज्न गई । नरम नरम किरामिरा ल्याई । भाले आहारा खोज्न गयो । ऊ खुवाउन थाली । बच्चाहरूलाई खुवाउँदै चारो सक्कियो । उसले त खानै पाइन । बचेराले भुइँमा झारेका त्यान्द्रातुन्द्री खाएरै चित्त बुझाई । उसलाई थाहा भयो, भालेलाई पनि यो समस्या परेको छ । उसले केही भनिन । बच्चाहरू अघाउँदैमा आमाबाबुको भुँडी भरियो ।
एकदिन भालेपोथी सँगै बाहिर निस्केका थिए । केही बेर ढिलो भयो । चरी हस्याङफस्याङ गर्दै आई । त्यहाँको अवस्था देखेर उसको सातोपुत्लो उड्यो । बचेरालाई कमिलाले घेरेका रहेछन् । उसका मुटुका टुक्राहरू छट्पटाई रहेका थिए । ऊ चिच्याई । भाले आत्तिँदै आयो । दुबै टपाटप कमिला खान थाले । एकैछिनमा कमिला सिनित्तै भए । आज बल्ल उनीहरूको भुँडी उक्सियो । बच्चा निर्धक्क भए । भालेपोथीलाई नि ढुक्क भयो । चरीले भनी, “आइन्दा दुईमध्ये एक जनाले लालाबाला नछाड्ने है । आलोपालो गरेर बाहिर जानुपर्छ ।” त्यसपछि बचेरा नहुर्केसम्म आमाबाबामध्ये एकजनाले गुँड छाडेनन् ।





