
रम्भा पौडेल
सृजन एक्कासी चिच्याउदै तल झर्यो। “के भयो सृजन ?” सृजन चिच्याएको सुनेर आमाले सोध्नुभयो।
“आमा! यो कागको गुँडलाई फालिदिनुस न । धन्नेै मलाई ठुँगेको ! मैले छतमा बसेर खाना खाएको देखेर उसले मलाई ठुग्नै आयो।” “आज तिमी किन यहाँ ? अरुबेला त तिमी भँगेरीको चिरबिर सुन्न बगैँचामै बस्दथ्यौ ।” आमाले अलि ठुलो स्वरमा भन्नुभयो।
“हो ! यो कागले त ठुग्नै आउछ । यो मानिस देखि डराउँदैन । अझ तिमी त सानो मान्छे मलाई पनि हिजो धन्नै ठुँगेको थियो । उसले आफ्ना सन्तानका लागि त जे पनि गर्छ । आफनो सन्तान बचाउन र पाल्न परो नि । के गर्ने बाबु ? त्यो पनि आमा हो नि उसको बच्चाको । बच्चालाई भोक लाग्यो भनेर खानेकुरा खोज्न आएको होला नि।” आमाले संझाउन खोज्दै भन्नुभयो।
“अनि मेरो खानेकुरा खोस्नेलाई यो बोटबाट हटाइदिनुस् ।” सृजनले जिद्धि गर्यो।
“बाबु कागको पनि छोराछोरी छन् नि। आफनो बच्चाको लागि आहार खोज्न आएको हो। बरु तिमी खाना खाँदा यही भान्सा मै बसेर खाउ न । उ भान्सामा त आउन सक्दैन नि । हेर न ! हाम्रो घरको बरिपरि बोटहरु छन र त उसले गुँड बनाउन पाएको छ। हामी घरमा बस्छौँ । गुँड त उसको घर हो बाबु । हामीले उसको घर फालिदिनु हुँदैन नि ।
यो पृथ्वी सबै प्राणीको साझा घर हो । उसलाई पनि बस्ने आफनो घर बनाउने अधिकार छ । पहिले पहिले यो कागले मानिसका चिठी आदान प्रदान गर्दथ्यो रे । अहिले पो सबैको हातमा मोबाइल छ। विश्वभरिको समाचार हातमै आउँछ। यो काग त समाचारको संवाहक हो बाबु । यसले कराउने आवाजले फरक सन्देश दिन्छ भन्ने भनाई अहिले पनि छ हाम्रो समाजमा । आमाले सृजनलाई कुरा बुझाउन खोज्दै भन्नुभयो।
सृजनले कागको गुँडमा हेरिरह्यो । काग काँ काँ गरिरहेको थियो।
“उसो भए उसको बच्चा हेर्छु नि त ।” सृजनले फेरी जिद्दि गर्यो।
“अहिले हुँदैन बाबु । गुँडको नजिक गयो भने त झन बच्चा लैजान लागे भनेर ठुँग्नै आउँछ । अलि ठुलो भएपछि उडेर छतमा आउँछन अनि हेरोला है ।” आमाले संझाउनु भयो।
सृजनले “हस्” भन्यो । उता सुन्तलाको बोटमा बसेका भँगेरीको चिरबिर भने उसलाई रमाइलो लाग्यो र सुन्तलाको बोट मुनि गएर हेरिरहयो।





