“चिर्दै अँध्यारो बढून्”


घनश्याम रेग्मी

हाम्रा बालक बालिका सुमनका हुन् कोपिला खासमा
पढ्ने खास उमेर हो सुमनको त्यो बाल्य मस्तिष्कमा
मायाँ पाउनुपर्छ यो समयमा हाम्रा मुनाले जति
त्यो पाएन भने त जीवन कठै कालो अँध्यारो कति।

हाँस्दै पढ्न र लेख्न पाउन सके शिक्षा लिए राम्ररी
हाम्रो भोलि सपार्न सक्छ शिशुले संसार हाँक्ने गरी
यी हाम्रा शिशुमा बडो जतनले संस्कार शिक्षा दिऊँ
यस्तो गर्न सके त पौरख यिनै गर्छन् भनी सम्झिऊँ।

सानो बालक कालमा तन तथा मस्तिष्क कच्चा हुने
यो बेला जति जे खुराक दिइयो सोही त हो पाइने
आफ्नो स्वार्थ निमित्त बालकहरू लाएर निष्कर्ममा
पैसा आर्जन गर्न उद्यत हुने मान्छे निकै छन् यहाँ।

यो बेला भ्रम जालमा कति जना फस्छन् नराम्रो गरी
के राम्रो अनि के खराब पथ हो बुझ्दैन राम्रो गरी
साथी इष्ट र मित्रका लहलहै मा लागि बाटो भुली
खोटो काम गरेर आर्जन पनि गर्छन् कसैले भुली।

आफन्ती भनिने खराब कति ती हुन्छन् बिगार्ने जन
पैसा निम्ति समस्त जीवन सुधा कालो गरेका मन
अत्याचार गरेर निर्घिन कुरा थोपर्न ती सक्दछन्
साना कोमल साङ्ग अङ्ग कतिका बेची धनी बन्दछन्।

भोकै काम लगाउँछन् कति जना पार्ने भनी नैतिक
पढ्ने औसरबाट बञ्चित गरी सास्ती दिने दैनिक
धन्दा कुत्सित गर्न लाउँछ कुनै चोरी ठगी गर्नमा
वा ओसारपसारको दलनमा झोस्छन् लगी गर्तमा।

यस्ताबाट बचाउनु छ कलिला यी बाल बच्चा सब
हामी बन्नु छ आज यो विषयमा साह्रै चनाखो अब
हाम्रा यी सुकुमार फूल बिरुवा चिर्दै अँध्यारो बढून्
के कर्तव्य छ देशनिम्ति अबको त्यो पाठ राम्रो पढून्।