
रेशम गिरि
जाँतो कस्तो हुन्छ ? आमा
ढिकी कस्तो हुन्छ ?
हुलाकीलाई पठाउने
चिठी कस्तो हुन्छ?
ढुङ्ग्रो कस्तो हुन्छ ? बाबा
ठेकी कस्तो हुन्छ ?
मदानी र त्यसमा लाउने
नेती कस्तो हुन्छ ?
मान्द्रो कस्तो हुन्छ ? दिदी
गुन्द्री कस्तो हुन्छ ?
नाकमा लाउने बुलाकी रे
मुन्द्री कस्तो हुन्छ ?
हलो कस्तो हुन्छ ? दाजु
जुवा कस्तो हुन्छ ?
पानी भर्ने पँधेरो त
कुवा कस्तो हुन्छ ?
खेत कस्तो हुन्छ ? भाउजू
बारी कस्तो हुन्छ ?
पानी कम हुन्छ भन्थे
टारी कस्तो हुन्छ ?
पाथी कस्तो हुन्छ ? बाजे
मानो कस्तो हुन्छ ?
घुमाउने घरमा खरको
छानो कस्तो हुन्छ ?
डोको कस्तो हुन्छ ? काका
नाम्लो कस्तो हुन्छ ?
गाइ भेँसी बाँध्ने भन्थे
दाम्लो कस्तो हुन्छ ?
श्रोत ः नेपाली बाल कविता





