
लक्ष्मीप्रसाद पौडेल
धनगढी, कैलाली
” बा, म गुरु दिक्षा लिन चाहन्छु !” विज्ञान पढेको छोराको अनौठो प्रश्न सुनेर बाबुले उसको मुखमा केहीबेर हेरे । र भने, ” दीक्षित हुन असल गुरु चाहिन्छ बाबु ! तिमी विज्ञान पढेको विद्यार्थी, आफ्नो गुरु आफैँ हुने प्रयत्न गर ।” “विज्ञानको गुरुत्वाकर्षण र अध्यात्मको आकर्षणमा फरक छ बाबु । गुरुत्वाकर्षणले मान्छे अडाउँछ । ईश्वरज्ञानले मान्छे विभाजित गरेको छ । आज —।”
“ईश्वरीय ज्ञानले जीवनबोझबाट मुक्ति दिन्छ । म मानवजीवनको सरल मुक्तिमार्ग अपनाउन चाहन्छु । जुन विज्ञानमा सम्भव छैन बा !”
“विज्ञानले जीवन वोध गराउँछ, बाँच्न सिकाउँछ । असलमा पूर्ण जीवन बाँच्नु नै मुक्ति प्राप्त गर्नु हो । जीवनदेखि भाग्नु मुक्ति होइन, मर्नु हो । मरेपछि शरीरसँगै जीवन पनि मर्छ।”
“ईश्वरीय ज्ञानले जीवन मरेपनि मान्छे जीवित रहन्छ, होइन र ? ”
छोराको नैराश्यतामा अवश्य केही थियो । तातो दूध पिए जिब्रो पोल्थ्यो । चिसो गरे स्वाद हराउँथ्यो । बा दोधारमा परे । चुप लाग्नु श्रेयस्कर थिएन । उनले मध्यबिन्दु झिके, –“विज्ञान पढेको विद्यार्थी तिक्ष्ण हुन्छ । उसँग नौलो / नवीन ज्ञान सृजना गर्ने आक्रामक शक्ति हुन्छ । ईश्वर भक्तिले त्यो शक्ति सुस्त हुन्छ । त्यहाँ सबै वस्तु / ज्ञान पूर्व सृजित हुन्छ । तिमीले सृजना गर्नुपर्ने केही हुन्न । अरूले दिएको लिने प्रवृतिले शरीर अङ्ग सेलाउँछ । मन्त्रीय ज्ञान क्षणभङ्गुर् हो, भङ्ग हुन्छ । अध्यात्ममा भग्नावशेषको कुनै प्रयोजन रहन्न ।”
“के विज्ञानले मृत मन प्रयोगमा ल्याउँछ त ? मसँग एउटा मरेको मन छ ! केही गर्न नसक्ने ज्ञान / विज्ञान छ !”
धनगढी, कैलाली





