
शिव पुन
धान राेपी सके पछि, लुताे फाल्ने साउन
नाग टास्न डाेराे बाध्न, बाजे आउन।
बाेडी सिमी टिप्न जान्थे, काेदाे मकै बारीमा
तामा पनि टुसाएछ, बाँस घारीमा।
वन पात गर्दा खेरि, कति रुझे झरीमा
सर्प बिच्छु झण्डै टाेके, वर्षा भरिमा।
माछा मारी खान्छु भन्दा, झण्डै अड्क्याे घाँटीमा
वन झाक्री लाग्या रै छ, दुख्यो छातीमा।
बाँचे भने नाच्छु हाेला, याे सालकाे तिजमा
पारि गाउँ झण्डै बग्याे, अस्ति हिजमा।
सिधा पारि जाउँ भने, काली गङ्गा गहिरो
पुल बाट जाउँ भने, झर्छ पहिरो।
सिम-सिम पानी पर्याे, मकै बाेट पातमा
पाेते टिकी किन्नु पर्ला, चुरा हातमा।
आधा पेट खाए पनि, कै ले भाेकाे परि न
नयाँ साडी चिल्लो गाडी, कुरै गरि न।





