दशैँ


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

“लक्ष्मी दशैँ आउनै लाग्यो, घर केही सुरसार भएन, पैसा पनि छैन, काम पनि पाइएन, म त यो दशैँ तिहार न आएनी हुन्थ्यो जस्तो लागेको छ ” पति दीनानाथले भने। “देशमा अहिले यस्तो दुःखद अवस्था छ, कसैको मुहारमा हाँसो छैन,बजार पनि सुनसान छ,किन आउँछ यो चाड बाडहरु? हामी जस्ता गरेर खानेलाई दुःख दिन , सताउन ?” लक्ष्मीको उत्तर थियो। “त्यसो भनेर कहाँ हुन्छ बुवा, मेरा साथी भाइले लुगा,जुत्ता घडीहरु किनी सके,मलाई पनि तुरुन्तै चाहियो,कलेजमा मेरो बेइज्जत हुन्छ,सबैले नयाँ लगाएर आउँछन्, म त पटक्कै मान्दिन है”छाेरी निर्मला को माग आयो।”छाेरी,यहाँ चामल ,तेल तरकारी , टीका लगाएर दिने दक्षिणाको पीरले हामी दुवै पिरोलिएका छौँ,यस्तोमा कपडा जुत्ताहरुको माग नगर न छाेरी,तिमी बुझकारी छौं” दीनानाथ बोले। “त्यसरी कहाँ हुन्छ बुवा ? मलाई जसरी जहाँबाट भए पनि चाहिन्छ अरु मैले केहि जान्दिन,दशैँमा न खाएको,नलगाएको कहिले लगाउने खाने?” निर्मला निकै तातिन। “तिमी के भन्दैछौ निर्मला? बुवा आमाहरुलाई पिर पार्न हुन्छ ? कोठाको भाडा खप्टिएको छ, नुन तेल चामल सकिएको छ,उधारो खप्टिएर दोकानेले अब केही दिन्न भनेको छ, रासनेलाई बुवाले बल्ल तल्ल मनाउनु भएकोछ,दिदी बहिनी,भान्जा भान्जी,ज्वाइँहरुलाई के दक्षिणा दिने,के खुवाउने भनेर पिर परेको छ, मैले त यस्तो सोंचेको छु यस पालि दशैँमा टिका लगाउनेलाई, लगाई दिने आफू भन्दा ठूला वडा सँग आशीर्वाद थाप्ने तर कसैले पनि दक्षिणा लिने दिने नगर्ने, अत्यन्तै सामान्य रूपमा दशैँ मनाउने हो”,छाेरा वसन्तले भने। दाजुले त्यसो भन्दा निर्मला रिसले बाहिर निस्किन, बुवा आमा छोरालाई हेर्दै खुसी भए।