दिदी रुनुभयो

चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १

‘एक्लै आइस भाइ ?’ ‘होइन दिदी भन्ज्याङसम्म साने थियो । कान्छी दिदीलाई लिन आएको ।’ ‘अनि के खायौ त बाटामा ?’ ‘के खानु दिदी आमाले चिउरा र शख्खर झोलामा हालिदिनु भएको थियो ।’ ‘अनि आमा बुवा सञ्चै हुनुहुन्छ त ?’ ‘अँ ठीकै छ ।’
‘तीजमा दिदी लिन आएका हौला हेर कान्छा दुःख पायौ । आमा बिरामी हुनुहुन्छ । घरमा चुलो जोरीदिने मान्छे पनि कोही छैन । बुवाको झन् विजोग छ । भित्र बाहिर गर्न सम्म कक्नुहुन्न । खेतमा घान गोडेर सकिएको छैन । हाम्रो त विजोग पो छ हौ । मैले माथ्ला घरे जेठोलाई खबर पठाएको थिएँ अझै पुगेको छैन त्यो ?’ भिनाजुले घरायसी अवस्थाको चित्रण गर्नुभयो ।


‘ससुराली बस्यो होला नि त ऊ पनि ।’ दिदीले प्रस्टयाउनुभयो ।
मैले बुवा आमालाई ढोग गरेँ । उहाँहरुले सम्धी सम्धिनाको हाल खबर सोध्नुभयो । ‘हेर कान्छा ! हाम्रा छोरी भएनन् तर बुहारीलाई पनि छोरीभन्दा बढता माया गरेर राखेका छौँ । चाडबाडमा आफ्नो घर जान लैजान त सबैलाई मन लाग्छ तर अहिले अवस्था प्रतिकुल भयो । पछि पठाउँला है अहिले दुःख पाएछौ ।’
‘हो भाइ मलाई केही कुराको अभाव छैन छोरीभन्दा बढता मायाँ पनि पाएको छु तर पनि तीजमा किन हो माइतै जान मन लाग्दो रहेछ । सायद यो हाम्रो परम्परा भएर होला । दुःख नमान हामी दसैँमा आउँला । तँ भोलि चारै बजे फर्किनु अनि घाम छँदै पुग्छस ।’
हिंड्ने बेलामा किन हो दिदी डाको छोडेर रुनुभयो ।