दिपेन्द्र आचार्य
इलाम
“नाइ बाबा दस रुपैयाँ नदिए त म स्कुल जान्न।”
“किन छोरी दस रुपैयाँ ?”
“चटपटे खान ।”
“स्कुलमा सरहरुले खाजा दिइहाल्नुहुन्छ नि! फेरि यस्तो बजारे खाजा स्वस्थ्यको लागि हानिकारक हो भन्ने थाह छ त मेरो ज्ञानी छोरीलाई ।”
“हामीलाई दिनुहुन्न खाजा। म भोकै पढ्न सक्दिन। दस रुपैयाँ दिनुहुन्न भने म त स्कुल जान्न।”
कक्षा पढने आफ्नी छोरीको कुरा सुने पछि छोरीसङै विद्यालय गइ दिवा खाजा सम्बन्धी कुरा बुझ्ने निर्णय गरी विद्यालय उनी जान्छन् । प्रधानाध्यापक सङ्ग छोरीको पढाई सम्बन्धी कुरा गरि दिवा खाजाको विषयमा सोध्न थाल्छन् ” सर पोहोरसम्म दिइएको दिवा खाजा अहिले किन दिइएन?”
“सरकारको नियम अनुसार कक्षा पाँच सम्म मात्रै दिवा खाजाको कार्यक्रम भएकाले यसो गरिएको हो।”प्रधानाध्यापकले सहज जवाफ दिनुहुन्छ।
“कक्षा ६ ले पनि दिवा खाजा नपाउने हो सर ?”
“हजुर यसपालिको बजेटले कक्षा ६लाई पनि दिवा खाजा काट्यो त।”
“धन्यवाद सर ” भन्दै अभिभावक बाहिरिन लाग्दा टेबुलमा रहेको कान्तिपुर पत्रिकामा आँखा पर्छ। जहाँ पहिलो पृष्ठमा लेखिएको हुन्छ, ” कोसी प्रदेशको प्रत्येक कर्मचारीलाई दैनिक रु २०० खाजा भत्ता।”