धुम्रपान मुक्त नगर

होम सुबेदी

धमाधम गरेर कान्ताले लुगामा आइरन गरेर तयार पारिदिइन्। दयारामले हतारहतार चिया नास्ता गरे। लुगा फेर्दै चुरोट तान्न खोजेको चुरोट सकिएको ता उनलाई बल्ल पो थाहा भो।”ए सपना !” काम गर्ने केटीलाई कराए। तुरुन्त हाजिर भई।
“जा त, चुरोट किनेर ले सकिएको रहेछ।” आदेश अनुसार केटी दोकानतिर लागी।
भुराभुरीलाई चुरोट खैनी किन्न बेच्न नपाइने सरकारी नियमलाई उनले दोकानेसँग सम्झौता गरेका छन् उनी ता जनप्रतिनिधि न हुन्। नियम भनेको त सर्वसाधारणलाई न हो। यसैले दयारामकोमा काम गर्ने सानी केटी सपनालाई दोकानेले अलिक लुकाएर चुटोट दिने गरेको छ। सार्वजनिक भाे भने ता फेरि फसाद हुन्छ।
लुगा लगाएर तयार भइसके। ‘केटी किन आउँदिन हँ!’ एकातिर केटी चुरोट लिएर आइनपुगेकोमा शङ्का अर्कातिर नास्ता गर्नासाथ चुरोट खाने तलतल!! दयाराम बडो व्यग्र भएर प्रतीक्षा गर्न थाले।
“किन यसरी आज हतार भो ? कहाँ केका लागि जान लाग्नु भाको ?” पत्नीको प्रश्न थियो।
“आज अन्तरराष्ट्रिय धुम्रपान रहित दिवस। यसका बारेमा जनचेतना जगाउनु छ। हाम्रो नगरलाई धुम्रपान रहित बनाउनु छ । यसैले बिहानैदेखि टोलबासीहरुलाई धुम्रपान मद्यपान खैनी गुट्खा लगायतका कुलतहरुबाट कसरी बच्न सकिन्छ भन्ने चेतनाका लागि मैत्री टोलबाट थालेर नगर भरि नै जुलुस गर्नु छ यसैले हतार भएको। बिहान सातैबजेदेखि जानु पर्नेमा हतार भइसक्यो ।त्यो केटीलाई चुरोट लिन पठाएको आइन अझ पनि। हेर हेर आई कि ? ”
“ए ए !! लु असल कुरा रहेछ। पहिले आफूतिर पनि जनचेतना जगाउनु होला!!”
“नकराऊ है तिमी बढी। खै त्यो केटी आइपुगिन त ।”उनलाई पाँच मिनटको समय पनि पाँच घन्टा जस्तो लाग्यो ।
बडो व्यग्र भएर बाटो हेर्दाहेर्दै केटीले बल्ल चुरोट ल्याइदिई। दयारामको सास बल्ल आयो। एकै पटक दुई ओटा चुरोट सल्काए र स्वाइँ स्वाइँ पारेर ताने। अनि हतार हतार बाहिर लागे।