
माहेश्वरी भट्ट , कञ्चनपुर
नयाँ वर्षको बिहान।
रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो।
सहर उस्तै थियो—धूलो, चिसो हावा र हतारिएका अनुहारहरू।
उसले भित्तामा नयाँ क्यालेन्डर टाँस्यो—२०८३।
पुरानो क्यालेन्डर मोडेर कुनामा फ्याँकिदियो।
त्यससँगै, उसले आफ्ना धेरै पुराना आशाहरू पनि फ्याँकेको जस्तो लाग्यो।
त्यत्तिकैमा छोरीले सोधी— “बाबा, नयाँ वर्षमा हाम्रो जीवन पनि नयाँ हुन्छ ?”
रामप्रसादले उत्तर दिएन।
उसले केवल सडकतिर हेरिरह्यो— जहाँ हिजो जस्तै आज पनि काम खोज्दै हिँड्ने मानिसहरूको भीड बढ्दै थियो।
मोबाइलमा म्यासेज आयो— विदेशमा रहेको छोराको।
“बाबा, नयाँ वर्षको शुभकामना।
यहाँ सबै ठीक छ… फर्किने कुरा अहिले सम्भव छैन।”
रामप्रसाद केहीबेर निशब्द रह्यो।
उसले बिस्तारै सटर पूरा उठायो, पसल खोलेर भित्र पस्यो।
भित्तामा टाँसिएको नयाँ क्यालेन्डरतिर फेरि एकपटक हेर्यो— मिति नयाँ थियो, तर दिन उही।
उसले चुपचाप पुरानो क्यालेन्डर उठायो र फेरि भित्तामै टाँसिदियो।
बाहिर, नयाँ वर्ष सुरु भइसकेको थियो।





