
बिष्णु उप्रेती
भक्तपुर राधेराधे
“हेर छाेरा, राताेदिन पैसाकाे पछिमात्र कति कुदि रहन्छस् । यसाे घर्मकर्म, पाठ पुजा ,यश कृतिका काममा पनि लाग् न। मैले पाे , केही गर्न सकिन त । तर मेरा बाबुले कति गरे सुन् ।
“हरेकदिन जाडो गर्मी केही नभनी बिहान चारबजे देखि शंखधण्ट बजाएर पुजा गर्थे। कति चौतारा पाटीपौवा बनाए ।कति पुराण लगाए। कति तिर्थधाममा पुगे। तँलाई के थाहा ?”
बाबुको कुरा सुनेर छाेराे, मरिमरी हाँस्याे र भन्याे — “बाबा अब यसाे पनि भन्नु न –मेरा बाले, कति धेरै पैसा मासिक तीन रुपैयाँ ब्याजमा लाए। भाकामा नतिरे बाख्राका खाेरमा थुने। त्रिभागीमा जग्गा ठेका कुतमा लगाएर ।आफैँ समानका मानिसलाई अछुती भन्दै घृणा गरे । घरकाे सिकुवा छुन दिएनन् । कृते कागज बनाएर अरुका जग्गा हडपे।”
छाेराकाे कुरा सकिएकै थिएन बाबू जुरुक्क उठेर कराए –” मेरा बाबुलाई जे पायाे तेहि भन्छस् पापी बजिय।”
छाेराे अलि पछि सरेर हाँस्दै भन्याे –” बाबा तेतिबेला अक्तियार थिएन र पाे त, नत्र हजुर बाकाे पाप र धर्म कुन बढी थियाे देखिने थियाे।”
फेरि छाेराले अलिक गम्भीर भएर भन्याे — ” हेर्नू बाबा –कहीँ कहिले कुनै प्राणी माथि पाप न गर्नु। कसैलाई अन्याय नगर्नु। मान्छे मान्छेमा कुनै प्रकारकाे भेदभाव नगर्नु । दुःखी गरिबकाे मर्म बुझ्नु । बस् पुग्छ। याे दुनियाँलाई देखाउने धर्मकर्मकाे नाटक गरिरहनु पर्दैन ।





