
राजन कार्की पाजु
धरान सुनसरी
आज मुसाहरु को आम भेला रैछ। गाउँ भरिका मुसाहरु चौरमा सहभागी हुन हस्याङफस्याङ गरि दौडी रहेका देखिन्थे। अधिकांश युवा मुसाहरु सहभागी थिए।
गाँउमा बिरालोको हिंसा वढेको थियो, हिंश्रक बिरालोको कारण मुसाहरु दिनदिनै लोप हुँदै गैरहेका थिए। यसैकारण बिरालोबाट कसरी सुरक्षित हुने भन्ने विषयमा छलफलको लागि आजको भेला आयोजना गरिएको रहेछ। मञ्च मुसाहरुले खचाखच भरिएको थियो।
सञ्चालकले कार्यक्रम सुरू गर्दै भने- “आदरणीय दाजुभाइ दिदीबहिनी तथा बा,आमा मुसाहरु! गाउँमा बिरालोको विगविगी छ, उसको हिंसावाट हामीहरू दिनानुदिन विनाश भैरहेका छौँ। बिरालोवाट हामीहरू कसरी सुरक्षित हुने भन्ने विषयमा यो भेला आयोजना गरिएको हो। यसबारेमा सबैले आफुमा भएको उपाय तथा सुझावहरु राख्नु होला!”
सबैले आआफ्नो धारणा राख्दै गए, कसैले चनाखो हुनुपर्ने बताए,कसैले बाहिर जथाभावी निस्कन नहुने सुझाए ,सबैले आआ-आफ्नो सुझाव राखे।
यतिकैमा एउटा पट्ठो मुसो भिडको बिचवाट जुरुक्क उठ्यो र भन्यो – “त्यो बिरालोको घाँटीमा एउटा घन्टी बाँधौँ, त्यसपछि उ हिडेको थाहा पाईन्छ र हामीले भाग्ने मौका पाउँनेछौँ।” सबैले पररररररररर् ताली पड्काए;र सोही उपाए प्रयोग गर्ने निर्णय भेलाले गर्यो।
यतिकैमा भिडको कुनावाट एउटा बुढो मुसो उठ्यो र भन्यो,” बावु हो निर्णय त ठिकै गर्यौ, तर त्यो बिरालो को घाँटीमा घण्टी चैँ कस्ले बाध्ने ?”





