
शुक्रराज कुँवर
कक्षा पाँच, नेपाली विषयको पढाइ भइरहेको थियो । गुरु पूर्णिमाको अवसर पनि थियो । गुरु दिनानाथ शर्माले गुरुको महिमाबारे विद्यार्थीहरुलाई बताइरहनु भएको थियो ।
पौराणिक काल देखि वर्तमान सम्मको शिक्षा आर्जन विधि , गुरु , गुरुकुल , पाठशाला आदि बारे सरल भाषामा बुझ्ने गरि बताइरहनु भएको थियो । कथावाचन जस्तो वहाँको अध्यापन कौशल प्रति विद्यार्थीहरु पनि मन्त्रमुग्ध हुन्थे । गुरु पूर्णिमाकै अवशरलाई मध्यनजर गरेर गुरुले एकदिन विद्यार्थीहरुलाई ” पाठशाला र गुरुको महिमा ” बारे लेखेर ल्याउन गृहकार्य दिनुभयो।
भोलिपल्ट विद्यार्थीहरुले गृहकार्य बुझाए । गुरु दिनानाथले एकएक गरी सबै गृहकार्य परीक्षण गर्नु भयो । सबैले आफूले पढिरहेको पाठशाला र गुरु दिनानाथको महिमा गाएर लेखेका थिए । तर एउटा विद्यार्थीको लेख अलि पृथक र उत्कृष्ट थियो जसले गुरु दिनानाथको ध्यान आकृष्ट गर्यो ।
ती विद्यार्थीले लेखेका थिए – ” हुन त मेरो पाठशाला र मेरा सम्पूर्ण गुरुहरु पूज्य पूजनीय हुनुहुन्छ तर मेरा लागि मेरो प्रथम पाठशाला मेरी आमाको काख र मेरो प्रथम गुरु उनै मेरी आामा हुन् ।”





