
शान्ता तिम्सिना
भक्तपुर
डाक्टर साप ! इमर्जेन्सी अप्रेसन आएको छ, हजुर तुरुन्तै आउनुपर्यो । नर्सले फोन गर्दै भनिन् ।
डाक्टर हतार हतार अस्पताल पुगे।
बिरामीका बाबा ढोकामै थिए । डाक्टरलाई देख्नासाथ जङ्गिँदै भने ,” कति ढिलो गर्नु भएको डाक्टर ! तपाईँको ढिलासुस्तीको कारण मेरो छोरालाई केही भयो भने ?
यो ठाउँमा तपाईँको छोरा भएको भए के गर्नु हुन्थ्यो ? भन्दै उसले आक्रोश पोख्यो।
” म अस्पताल बाहिर थिए , नर्सले खबर गर्नासाथ आएको हुँ ! आक्रोशमा नआउनुस् मलाई काम गर्न दिनुहोस् ।” अप्रेसन रुममा छिरे ,उनी ।
केही समय पछि डाक्टर बाहिर निस्केर भने – ” बधाई छ तपाईँलाई ! भगवानको कृपाले अप्रेसन सफल भयो ।” डाक्टरलाई केही सोध्न खोज्दै थिए, तर उनी हतार हतार अगाडि लम्किए ।
उनी अझै जङ्गिँदै थिए ,
” कस्तो घमन्डले भरिएको डाक्टर रहेछ, केही कुरा सोधौँ भनेको ।”
यो कुरा सुनिरहेकी नर्सले आँखा रसिलो पार्दै भनिन् , ” हिजो उहाँकी छोरीको मृत्यु भएको थियो ।
आज अन्त्येष्टि गर्दा गर्दै इमर्जेन्सी अप्रेसन छ भनेर घाटबाट उहाँ हतार हतार आउनु भएको हो।”





