

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
मुनाले कक्षामा पसेर अमृतलाई जाँचका पेपर देखाउँदै भनिन्— “अमृत तिमीले यो के गरेको भन त ? जाबो आमा शब्दको वाक्य पनि बनाउन सकेनौ ? तिम्रो सानो भुलले क्लास टप हुनबाट बन्चित भयौ । तिमीहरूको दोष हैन म नै उस्तो, मैले पढाउन नै जानिनँ ।”
अमृत आँखाभरि आँसु पार्दै मौन रहिन् । समीक्षाले उठेर हात उठाउँदै भनिन्— “हजुरले पढाएको हामी सबैले बुझेका छौँ । अमृतको आमा हुनुहन्न त्यसैले… ।”
“ओ त्यसो पो ! मलाई माफ गर अमृत । म त धेरै रिसाएकी पो थिएँ । भैगो, अब म आमा शब्दको वाक्य बनाउन नै दिन्नँ।”
अमृतले कापीमा केही लेखेर मुनालाई दिए । कापी हेरेपछि मुनाको आँखाबाट बरबर आँसु झर्यो । सबै हेरेको हेरै भए। अमृतले उठेर नम्र स्वरमा भने— “हामीले आमाजस्तै गुरुआमा पाएका छौँ।”
मुनाले खुसीको आँसु झार्दै अमृतलाई अङ्कमाल गरिन्।
विद्यार्थीहरू भनिरहेका थिए— “बल्ल पूरा वाक्य भयो। हो, अमृत नै क्लासटपर हुनुपर्छ । हामीलाई केही आपत्ति छैन ।”




