
शुभ शर्मा
पोखरा
“के भयो ? किन ठुस्सिएको ? आजपनि भेटिस् कि क्या हो ?” झोला फ्यात्त भुइँमा राखेको देखेर दिदीले भाइलाई सोधिन्।
ऊ बोलेन । दिदीलाई शङ्का लाग्यो र झोलाबाट भाइको कपी झिकेर हेरिन् । यसले त गृहकार्यमा आलु नै पाएछ नि !
दिदीको कुरा सुनेर उसले झन् घोसेमुन्टो लगायो।
दिदीले हाँस्दै टिभी हेरिरहेका बुबा र हजुरबुबालाई भाइले आमाको बारेमा लेखेको कुरा पढेर सुनाइन् । उसले आमालाई रोबर्टसँग तुलना गरेको थियो । आमा र रोबर्टको तुलनात्मक टिप्पणी निकै मर्मभेदी थियो । त्यसैले छोरीले पढेर सुनाइ रहँदा छेवैमा बसेर कपडा पट्याइरहेकी आमाको परेला भारि भएका थिए तर छल्कन भने सकेका थिएनन्।
बुबाले प्रश्न तेर्स्याए ,”तैँले आमा र रोबर्टमा समानता मात्रै देखिस् छोरा तर भिन्नता देखिनस् ? रोबर्ट त एक थप्पड लगाएपछि चुप हुन्छ तर……! यति भन्दै ऊ मुर्छा परेर हाँस्न थाल्यो।
नातिको लेख र छोराको हाँसोले प्रभावित बनेका हजुरबुबाले मन थाम्न सकेनन् र बोले, “बाबु ! तिम्रो बुबाले ठीक भन्दै छ । रोबर्टलाई एक थप्पड लगाएपछि बन्द हुन्छ । अझै बेस्सरी हान्ने हो भने टुट्छ, फुट्छ तर आमा लाखौँ चोट सहेर , पटकपटक मरेर पनि विचलित हुन्नन्, त्यसैले आमालाई उपभोग्य वस्तुसँग तुलना गर्न हुँदैन । आमा साक्षात् देवी हुन् ।”
नातिले फ्याट्टै सोध्यो , “उसोभए रोबर्ट के हो त हजुरबुबा ?”
हजुरबुबाले गर्व गर्दै भने ,”रोबोट त हामी मानिसले बनाएको निर्जीव प्रतिमा हो ।”





