फरक

अवतार ढकाल

“बाबा ! मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?”
कथाको मेलोमेसो नपाएर घोत्लिरहेको कथाकारलाई दस वर्षको छोराले सोध्यो। छोराको प्रश्नको पनि मेलोमेसो नपाएर उनले उसको अनुहार पढन खोज्दै सोधे : `किन र बाबु ?´
“हाम्री बुनेलाई लुगा नलगाको बेलामा कुरी कुरी भन्यो भने कस्तो लाज मानेर दौडन्छे तर ठूलाहरू त ……….।”
‘अनि के भयो त ?´ बोल्दा बोल्दै रोकिएको छोरालाई उनले सोधे ।
“अघि पल्लो घरकी दिदीलाई छोटो लुगा लगाको देखेर कुरीकुरी भनेको त झण्डै मारिनन् । ननसेन्स फुच्चे भन्दै थर्काइन् । अस्ति एउटा दाइको प्यान्ट कम्मर मुनि पुगेको देखेर सम्झाको त झण्डै पिटेनन् ।” उसले घटना बतायो ।
कथाकारले छोरोको अनुहारतिर एकछिन गहिरिएर हेरे अनि बिस्तारै भने “हो बाबु , बच्चाहरू नाङ्गो हुँदा लजाउँछन् तर ठूलाहरू आफ्नो नग्नताको प्रशंसा खोज्छन् ।”