बच्चा देश का कर्णधार

कृष्णशरण उपाध्याय पौडेल

छन्द : शालिनी

बच्चा हाँसे भोलि हाँस्नेछ देश
बच्चा नाचे भोलि नाच्नेछ देश
बच्चा सुध्रे देश गर्लान् सुधार
बच्चा नै हुन् देश का कर्णधार।

काँचो माटो बन्न सक्दैन के र ?
चौडो बाटो खन्न सक्दैन को र ?
भावी बन्दै भोलि लेख्लान् निधार
बच्चा नै हुन् देश का कर्णधार।

बच्चा भित्रै उच्च सम्भावना छ
ऊर्जादायी चेतना भावना छ
फेर्लान् पक्कै देश को श्रीमुहार
बच्चा नै हुन् देश का कर्णधार।

शिक्षा पाऊन् शिल्प सच्चा कमाऊन्
दीक्षा पाऊन् मार्ग सच्चा समाऊन्
हुर्कून् बच्चा ती बनून् जोडदार
बच्चा नै हुन् देश का कर्णधार।

बन्दै बच्चा भोलि का भीमसेन
देलान् पक्कै देश मा उच्च देन
यस्तो सम्झी हौँ सबै होशियार
बच्चा नै हुन् देश का कर्णधार।