प्राडा प्राज्ञ खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी
अघिल्लो दिन
“यो बाटो लानू न बाबा, छिटो हुन्छ ।”
“हुँदैन छोरा, त्याँ ट्राफिक अङ्कल बसेका छन् । एकातर्फी बाटो हो । लाइसेन्स लान्छन् । जरिवाना तिर्नुपर्छ ।”
भोलिपल्ट
“आज त ट्राफिक अङ्कल छैनन् । यै बाटो जौँ छोरा । मोटरसाइकल यतै घुमाएँ है मैले ।”
“ट्राफिक अङ्कल नहुँदा चैँ नियम मान्नुपर्दैन बाबा ?”
“अलिकति बठ्याइँ पनि त गर्नुपर्छ छोरा । लाटासोझाको जमाना छैन आजभोलि ।”
पर्सिपल्ट
“बाबा, म स्कुल हिँडेको, खाजा खाने पैसा दिनु न ।”
“त्याँ मेरो गोजीमा छ, पचास रूपियाँ निकालेर लैजा ।”
“अरे, पचास रुपैयाँ भनेको त पाँच सय रुपैयाँ पो लगिछस् त ! के गर्या तैँले ?”
“बठ्याइँ गर्या नि बाबा । अब म पनि त बाठो भएँ नि ।”