बसुधैव कुटुम्बकम


शुक्रराज कुँवर
बलभद्रपथ, धरान १०

“पृथ्वी! तिम्रा ती मनुवाहरु अचम्मका यान मेरा धरतीमा प्रक्षेपण गरिरहेकाछन् त ? त्यता प्रकृतिको दोहन गरिसके, अब तिनीहरुको नजर यतातिर ? ” मङ्गल ग्रहले पृथ्वीलाई भनिन्।
“हो र ? ” पृथ्वी नराम्ररी झस्किईन्। “के उत्पात मच्चाउने हुन् अब। प्रकृतिमाथि विजय प्राप्त गर्ने भन्दै हिड्याछन्।” उनको मनले चिन्ता जाहेर गर्यो। ” हेर ! हेर ! तिमी कति कुरुप ? त्यो बाढी , त्यो पहिरो , त्यो वन विनाश, भूस्खलन, प्रचण्ड ताप, जल, थल ,आकाश सबै प्रदूषित ? अरुको अस्तित्व नाश गरेर प्रकृति माथिको विजय भन्ने ? ‘विनाशकाले विपरित बुद्धि !’ यस्ता मनुवालाई मेरो धरतीमा बहिस्कार गरिन्छ ।” मङ्गल ग्रहले आक्रोश पोखिन्।
” के गर्नु ? आफ्नै सन्तान हुन् । आमा हुँ ! सन्तानले जति नै चिथरे पनि, कोपरे पनि माया नै लाग्दो रहेछ।” पृथ्वी अथाह पिडाले सुँक्क सुँक्क गर्न थालिन् । पृथ्वीका सबै जीवित प्राणी, वनस्पति आदि प्रकृतिकै अङ्ग हुन् भनेर कस्तो नबुझेका। यिनको घैँटामा कहिले घाम लाग्ने हुन् ! चिन्ताले उनी खग्रास भईन् ।
त्यसैबेला कल्याङबल्याङ आवाज सुनियो । पृथ्वीले टाउको उठाईन् । आकाशमा छरिएका सूर्यका सुनौला किरण जस्तै उनको मुहारमा मलिन मुस्कान छरियो । अब त केही राम्रो गर्लान् कि भनेर आशाको त्यान्द्रो जाग्यो।
मनुवाहरु ‘ बसुधैव कुटुम्बकम ‘ नारा घन्काउँदै प्रकृति बचाउ अभियानमा होमिएका थिए ।