बादल


त्रिलोचन ढकाल
आनन्दआश्रम
आँधीखोला६फापरथुम,स्याङ्जा

“बत्ती बाल्नै पर्ला जस्तो अँध्यारो भयो।” हजुरआमा फत्फताउन थाल्नुभयो। उहाँले थप्नुभयो “भर्खरसम्म छर्लङ्ग थियो। कहाँबाट के आयो यति छिटो ?”
“पानी हो हजुरआमा।” नातिले हजुरआमाको जिज्ञासा शान्त गर्न खोजे।
हजुरआमा झन् अशान्त हुनुभयो। पानी आकाशमा टाँसिएर अँध्यारै बनाउँछ भनेर पत्याउनु भएन। “हिजोको फुल आजको बच्चा! “मैले त यस्तो कति देखेँ कति ? होइन स्कुलमा मास्टरले के पढाउँछन् हँ ?”
“पढेरै जानेको हजुरआमा।” नाति अगाडि उभिए।
“हाम्रो वरिपरि हावा छ नि हजुरआमा !”
“अँ ! छ।”
“त्यसमा पारदर्शी पानी हुन्छ।”
“फेरि उल्लु कुरा !”
“हावाले छुँदा शीतल हुन्छ नि” “अँ हुन्छ । तर कहाँबाट आउँछ ?”
“समुद्र, तालतलैया, नदी र बोटबिरुवामा रहेका पानीलाई सूर्यको किरणले बाफ बनाउँछ, हजुरआमाले दाल भात पकाउँदा उडेको बाफ पनि हावामै घोलिन्छ नि!”
“ए!!” हजुरआमाले सकारात्मक टाउको हल्लाउनुभयो।
“हावामा पानी नहुने हो भने मानिस मात्र होइन पशु, पन्छी, बोटबिरुवा, घाँसपात सबै निसासिएर र पोलिएर मर्छन्।”
हजुरआमाको ध्यान केन्द्रित भएझैँ भयो। हँसिलो मुद्रामा प्रश्न गर्नुभयो: “अनि ?”
“त्यही पानी वातावरणको ठन्डीगर्मीको सन्तुलन यताउति हुँदा हाम्रै वरिपरि अपारदर्शी कणयुक्त बाफ बनेर उड्छ, बादल भएर।”