बालबालिकालाई अब किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि सिकाउनुपर्छ

 

तोरण गुरूङ

आजको युग प्रविधिको युग हो। साना बालबालिकाले मोबाइल चलाउन सक्छन्, कम्प्युटरमा गेम खेल्न सक्छन्, र इन्टरनेटबाट नयाँ कुरा खोज्न सक्छन्। तर जब वास्तविक जीवनका साना कामहरूको कुरा आउँछ जस्तै आफ्ना कपडा धुने, घर सफा गर्ने, आफ्ना सामान मिलाउने वा खाना बनाउने त्यतिबेला उनीहरूलाई असहज महसुस हुन्छ। हामीले बालबालिकालाई पढाउन त सकेका छौं, तर उनीहरूलाई जिउन सिकाउन सकेका छैनौं। यही नै अहिलेको शिक्षामा रहेको सबैभन्दा ठूलो कमी हो। शिक्षाको असली अर्थ केवल किताब पढ्नु होइन, जीवनका मूल्य र सीप सिक्नु पनि हो। यदि बच्चाले गणित, विज्ञान र अंग्रेजी राम्रोसँग पढे पनि व्यवहारिक ज्ञान नभए ऊ आत्मनिर्भर बन्न सक्दैन। उदाहरणका लागि, विदेशमा पढ्न गएका धेरै विद्यार्थीहरू पढाइमा उत्कृष्ट भए पनि आफ्नो कपडा धुन, खाना पकाउन वा घर सफा गर्न नजान्दा समस्या भोग्छन्। उनीहरूलाई किताबका उत्तर थाहा हुन्छन्, तर जीवनका साना प्रश्नहरूको उत्तर खोज्न गाह्रो हुन्छ। यसैले अभिभावक र विद्यालय दुवैले बुझ्नुपर्छ बालबालिकाको जीवन सफल बनाउन पढाइ मात्र होइन, व्यवहारिक शिक्षा पनि आवश्यक छ। सानै उमेरदेखि बच्चालाई आफ्नो कपडा आफैं धुन, जुत्ता पालिस गर्न, ओछ्यान मिलाउन, बिहान बेलुकी सरसफाइ गर्न र आमाबुबालाई साना काममा सघाउन सिकाउनुपर्छ। यस्ता साना अभ्यासले उनीहरूमा जिम्मेवारीबोध, श्रमप्रतिको सम्मान र आत्मविश्वासको विकास गर्छ। जसरी बिरुवा सानो हुँदा सहि दिशामा बढाइयो भने मात्रै ठूलो र बलियो रुख बन्छ, त्यसरी नै बालबालिकालाई सानै उमेरदेखि व्यवहारिक सीप सिकाइयो भने ऊ भविष्यमा परिश्रमी, अनुशासित र आत्मनिर्भर व्यक्ति बन्छ। यदि बच्चालाई सधैं सजिलो बनाइदियो भने ऊ कहिल्यै कठिनाइ सहन सक्दैन। बरु उसलाई कहिलेकाहीँ कठिन काम गर्न दिनुपर्छ जस्तै आफ्नै कपडा धुन, आफैं खाना बनाउन प्रयास गर्नु, विद्यालयको प्रोजेक्ट आफैं पूरा गर्नु आदि। यस्ता अभ्यासहरूले बालबालिकालाई जीवनका स–साना कठिनाइसँग जुध्न सिकाउँछन्। एक विद्यार्थीले गणितमा सय अंक ल्याउन सक्छ, तर यदि ऊ आफ्नो कोठा सफा गर्न, साथीको सहयोग गर्न वा आमाबुबाको मिहिनेत बुझ्न सक्दैन भने त्यो शिक्षा अधुरो हुन्छ। साँचो शिक्षा भनेको केवल ज्ञानको संग्रह होइन, त्यो त सोच, व्यवहार र जिम्मेवारीको अभ्यास हो। नेपालका गाउँ शहर दुबै ठाउँमा धेरैजसो आमाबुबा सन्तानलाई साना काम गर्न दिन चाहँदैनन्। उनीहरू भन्छन्, बच्चाले पढ्नका लागि मात्र हो, काम हामी गर्छौं। तर यस्तै सोचले नै बालबालिकालाई निर्भर बनाउँछ। जब ऊ ठूलो हुन्छ, त्यतिबेला सानो कुरा देखेर पनि तनाव लिन्छ, र हरेक कामका लागि अरूको भर पर्नुपर्छ। बरु यदि सानैदेखि व्यवहारिक काममा संलग्न बनाइयो भने, ऊ आत्मनिर्भर र संयमी बन्न सक्छ उदाहरणका लागि, यदि बालकले हरेक बिहान आफ्नो ओछ्यान आफैं मिलाउने बानी बसाल्यो भने उसमा अनुशासन र जिम्मेवारीको गुण विकास हुन्छ। यदि बालिकाले आमासँग भान्सामा बसेर चिया बनाउन सिकेकी छ भने, ऊ श्रमको मूल्य बुझ्छ। जब बच्चाले आफ्ना कपडा आफैं धुन सिक्छ, ऊ बुझ्छ सफाइ केवल अरूको होइन, आफ्नो पनि जिम्मेवारी हो। यी साना अभ्यासहरूले बालबालिकाको चरित्र र सोच दुवै निर्माण गर्छन् विद्यालयहरूले पनि अहिलेको समयमा केवल पाठ्यपुस्तकमा सीमित रहनु हुँदैन। विद्यालयले व्यवहारिक विषयहरू जस्तै घरव्यवस्था, बगैंचा स्याहार्ने कला, सानो खाना पकाउने, बस्त्र धुने, पैसाको सदुपयोग गर्ने, सहयोग गर्ने सीप, र आपत्कालमा प्राथमिक उपचार दिने जस्ता कुरा पनि पढाउनुपर्छ। यस्ता विषयहरूले विद्यार्थीहरूमा आत्मविश्वास, परिश्रम र नेतृत्व क्षमताको विकास गर्छ। हामीले बुझ्नुपर्छ जीवनमा असल नतिजा ल्याउने व्यक्ति त्यो होइन जसले परीक्षा राम्रो लेख्यो, तर त्यो हो जसले जीवनका समस्या समाधान गर्न सक्छ। किताबले मस्तिष्क चलाउँछ, तर व्यवहारिक सीपले जीवन चलाउँछ। अन्त्यमा,बालबालिकालाई साँचो रूपमा शिक्षित बनाउन हामीले अब नयाँ सोच ल्याउनुपर्छ। सन्तानलाई केवल अंकका लागि पढाउने होइन, जीवनका लागि तयार पार्नुपर्छ। उनीहरूलाई श्रमको सम्मान गर्न, आफ्ना कुरा आफैं गर्न, अरूलाई सहयोग गर्न, असफलता भोग्न र फेरि उठ्न सिकाउनुपर्छ। जब हामीले बालबालिकालाई यस्ता सीप सिकाउँछौं, तब मात्र उनीहरू जीवनका हरेक परिस्थितिमा सफल बन्न सक्छन्। शिक्षा भनेको परीक्षा पास गर्नका लागि होइन, जीवन पास गर्नका लागि हो। किताबले मस्तिष्क उज्यालो बनाउँछ, तर व्यवहारिक ज्ञानले जीवन उज्यालो बनाउँछ। त्यसैले अब हरेक बालबालिकालाई केवल पढ्न होइन, जीवन बुझ्न र जिउन सिक्न प्रेरित गरौँ।