देव भट्टराई
बेचेर माटो धन जोड्नु छैन ।
खोजेर नाठो मन जोड्नु छैन ।।
सन्तुष्ट आफ्नै घर देशभित्र ।
जस्तोसुकै दु:ख सहन्छु मित्र ।।
माया किनेको पछि बिक्न सक्छ ।
नाता चिनेको कति टिक्न सक्छ ??
मज्जा छ आमासँगको बसाइ ।
मीठो छ बेग्लै मृदु यो हँसाइ ।।
मैले नजित्दा जित देशको होस् ।
मैले नहार्दा हित देशको होस् ।।
हारूँ मलाई घिन लाज छैन ।
जित्दा बधाई अनि ताज छैन ।।
आँटो र पीठो अति लाग्छ मीठो ।
मिष्टान्न के काम विदेशको त्यो ??
हाँसो न स्थायी सुखचैन छैन ।
देखावटी लाग्छ यथार्थ हैन ।।
कर्तव्य ठानीकन भार मागूँ ।
दायित्व बोकी अधिकार मागूँ ।।
बेकार झूठा सपना नदेखूँ ।
बेग्लै सुनौलो इतिहाँस लेखूँ ।।
के गर्नु सम्भ्रान्त धनाढ्य भ्रष्ट ?
आत्माविनाको कटु धार अस्त्र ।।
सारा बनून् मानिस यी सशक्त ।
कोही कसैको नचुसेर रक्त ।।