
डा छायादत्त न्यौपाने
सविन क्याम्पस पढ्ने विद्यार्थी हुन् । उनकाे पढाइ राम्रो छ । अरु क्रियाकलापमा पनि सक्रिय छन् । साथीहरूसित गाउँटाेलकाे सरसफाइ कार्यमा पनि सहभागी हुन्छन् ।
सविनकाे दैनिकी लेख्ने बानी छ । एक दिन अलिक छिटै खाना खाएर दैनिकी लेख्न बसे । लेख्दै गर्दा अलिक लामाे भाे । उनलेे दैनिक पुस्तिका (डायरी ) बन्द नगरी टेबुलमै खुला छाडेर सुते।
सविनले बत्ती पनि निभाएनछन् भन्दै आमा काेठामा छिर्नुभाे । उहाँका आँखा सविनकाे दैनिक पुस्तिकामा परे । उहाँले के लेखेछन् छाेराले भनेर पढ्न थाल्नुभयाे- आज २०८१ भाद्र २० मेरो जन्मदिन मनाउन हजुरबाआमा आउनुभएन । कस्तो नमजा भाे ! किन आउनुभएन मलाई माया गर्ने हजुरबाआमा भनेर जान्न खाेजेकाे त उत्सवमा बुढाबुढीलाई सामेल गराउनुहुन्न रे ! त्यै भएर बाआमाले उहाँहरूलाई आउन दिनुभएनछ । मलाई लाग्यो- मैले पनि मेरा बाआमा बुढा भएपछि जन्मदिन, उत्सवहरू तीर्थव्रतकाे समयमा उपस्थित गराउन नहुने रहेछ ।
हिजो बाले हजुरआमालाई अस्पताल पनि लानुभएन । अब कति दिन बाँच्ने हाे र पैसा खर्च गरी गरी अस्पताल जाने ! फेरि अब तपाईँ बाँचेर पनि के काम बरु छिटो जानुभए सजिलो । तपाईँले सुख पाउने, हाम्रो पैसा बच्ने ! भनेर कराउनुभाे । हजुरबाले पैसा मसँग छ । तैँले जान/आउन सहयोग गर्दे भन्दा नि फुर्सद छैन भन्दै कता हिँड्नुभाे ।
यसकाे अर्थ म पनि ठुलो भएर विवाह गरेपछि छाेराछाेरी र स्वास्नी बाहेक अरु कुनै जिम्मेवारी पूरा गर्नुपर्ने रहेनछ । यति कुरा सिकियाे । पल्लो घरका काकाले पनि बाआमालाई वृद्धाश्रम लगेर छाेड्नुभाे रे !
ल, ठिकै भाे , भाेलिकाे लागि याे एउटा काम लाग्ने कुरा थाहा पाइयाे ।…
यहाँसम्म पुग्दा सविनकी आमा उभिएको उभियै । कता गई बुढी भनेर सविनका बा खाेज्दै आउनुभाे । आमाले छाेराले लेखेको दैनिकी पढ्न दिनुभयाे ।
भाेलिपल्ट बिहान उठ्दा त सविनका बा , बाआमालाई लिएर अस्पतालतिर हानिनुभएछ। आमा हजुरबाआमाकाे काेठा सफा गर्दै …! साँझ सविन क्याम्पसबाट फर्कंदा त हजुरबाआमा उज्यालो अनुहार लिएर बैठक काेठामा ! हँ के भएछ ! अघिपछि छिर्नै नपाउने बैठकमा खुसीले बसिरहुनुभा !





