बैशाखी


कुमुदप्रसाद शर्मा प्याकुरेल

“गइदिनुस् न, गइदिनुस्। अस्तिदेखि मसँग बुवालाई `भन्दे कि भन्दे´लगाइराखेकी छिन् । उसको बूढो यहाँ छैन र पो… हजुरको आश गरेकी त !” जानकीले मोदनाथलाई भनिन्।
बुहारी सोबितालाई सुनको `नेकलेस´ किन्नु छ । धेरै वर्ष भयो रहर गरेकी । यसपालि भने बल्लतल्ल रकम जुटाएकी छन्।
“हेर न ! मलाई यस्तो कुरामा कत्ति पनि `आइडिया´ छैन । कसेर मोलतोल गर्न पनि जान्दिनँ। जर्ती, रसायन के के भन्छन्, त्यो त झन् पटक्कै बुझ्दिनँ । लौरो जस्तै ठडिन मात्र त के जानू !” बूढाले गहना पसल नजानलाई बाहाना निकाले।
यति सानो कुरा भनेको पनि बुवाले मान्नुभएन भनेर चित्त दुखाउलिन् नि बुहारीले।” जानकीले गम्भीर भएर भनिन् ।
“साथी नै चाहिएको भए तिमी आफैँ गइदिए पनि त भयो नि ! खुरुक्क `पठाओ´ बोलाउनू, सासू बुहारी जानू । यो त वास्तवमा तिमीहरूले नै गर्ने काम हो क्यारे !” बूढाले पन्छिन अर्को जुक्ति निकाले।
“कस्तो ! कुरै बुझ्नुहुन्न हजुर……। म गएर हुनेभए हजुरलाई किन गुहार्नुपर्थ्यो र !” बुढियाले दिग्दारी प्रकट गरिन्।
“मैले कहिले पनि नगरेको काम पर्यो यो । यस्तो कुरामा तिमीलाई अलि बढी जानकारी छ । अनलाइनमा यस बारेको विज्ञापनहरू बेलाबेलामा हेरिराखेको देख्छु……।” बूढाले सङ्केत मै आफ्नोे भनाइ पूरा गरे ।
बुढियाले दिक्क मान्दै भनिन् , “कस्तो कुरा नबुझ्नुभएको ! मोलतोल सबै उनैले गर्छिन् । पैसासैसाको कुरामा पनि हजुरले केही चिन्ता लिनु पर्दैन।”
त्यहाँ मेरो कुनै भूमिका नै हुँदैन भने मैले जानु चाहिँ किन नि फेरि? बूढाले बुढियालाई र्या र्याख्ती पारे।
त्यही बेला सोबिता टुप्लुक्क आइपुगिन् र भनिन्, “अरू कारणले होइन बुवा ! लोग्नेमानिसले त्यहाँ गएर उभिइदिए मात्र पनि `कुरा अर्कै हुन्छ´ र पो भनेको त !”
बुहारीको कुराले मोदनाथलाई सोचमग्न बनायो । निकैबेर घोत्लिएपछि भने, “त्यसोभए मलाई एकजोर बैशाखी ल्याइदेओ !”
बूढाको कुरा सुनेर सासू बुहारी दुबैले एकै स्वरमा भने, “होइन ! हजुरको गोडा के भएको छ र बैशाखी चाहियो ?”
बूढाले बुहारीतिर हेर्दै भने, “त्यही त ! यतिका पढेलेखेकी, जान्नेबुझ्ने मान्छेले आफूमै पो भरोसा गर्नुपर्छ त । लोग्नेमानिसलाई बैशाखी बनाउने हो ?”