
उषा गुरुङ्ग
सकिला कक्षा दसमा पढ्दै छे । जीउडाल अलि मोटो छ।
मासु भात भनेपछि हिरिक्क हुन्छे।
उसका स्कूलका साथीहरु धेरैजसो साउने सोमबारको ब्रत बसेका रहेछन् । साथीहरूले टिफिनमा कुनैपनि खाजा खाएनन्।
त्यो देखेर उनलाई पनि ब्रत बस्न मन लाग्यो।
उसले घरमा आफ्नी आमालाई मंगलबारको दिन ब्रत बस्छु भनेर भन्छे , यो दिन मंगलबार नै थियो।
उसकी आमाले पनि मंगलबार सधैँ ब्रत बस्छिन्।
आमाले छोरीलाई सम्झाउँदै भनिन् – ” किन बस्नु पर्यो ब्रत, नबस अहिले भन्छिन् ।”
छोरी – ” नाई ! म आजैदेखि बस्छु , मलाई फलफूल किन्ने पैसा दिनुस् ” भन्दै लिंडे ढिपी गर्छे।
आमा – ” ला केरा किनेर ल्याउनु ” भन्दै ५०० रूपियाँ झिकेर दिन्छिन्।
सकिला फलफुल किन्न पैसा लिएर जान्छे।
उसले केरा पाइन । स्याउ किनेर ल्याउछे।
स्कुल जाने बेला एक गिलास दूध र स्याउ खान्छे , खाजा स्याउ लिएर जान्छे।
स्कुल जानु अघि आमालाई आदेश दिँदै भन्छे – ” म भरे हलुवा र दूध खान्छु , बनाएर राख्नुहोला। ”
छोरीको आदेश पालना गर्दै आमाले हलुवा ठीक पारेर राख्छिन्।
स्कुलबाट आएर टन्न हलुवा र दूध खान्छे।
त्यो दिन घरका अन्य सदस्यहरूले अन्डा चाउमिन पकाएर खान्छन्।
त्यो दृश्य देखेर साकिलाले गाली गर्छे।
” मैले नखाने दिन यस्तो खानु पर्ने , मलाई पनि राखिदिनु।
भोलि बिहानै म खान्छु नि। ”
त्यसैगरी फेरि भन्न थाली – दशैँको बेलामा मेरो ब्रत परे पनि म मासु चाहिँ खान्छु नि थाहा छ।”
सकिलाको दाजु सगुनले बैनीलाई सम्झाउँदै भन्छ ” यो मेरो बैनीको ब्रत भंग नगराउनु है कसैले।”





