
भगवातीप्रसाद शर्मा
समय प्रथम आभा हो सुनौलो सुनौलो
अविरल गतिमा यो हिड्छ नौलो न नौलो
गुरु पनि सबको हो जान्छ धेरै अगाडि
समय गति नचिन्ने हुन्छ मान्छे पछाडि।
सरर पवनझैँ ऊ दौडिने गर्छ ज्यादा
नजिक न त कसैको छेउमा बस्छ प्याधा
समय त डुलुवा हो आजको भोलि छैन
समय गतिसँगैमा चल्नु आनन्द चैन।
शिशिर शरद बर्खा गृष्म होस् या वसन्त
समयसँग चलेका बन्न सक्दैन अन्त
रवि-शशि-ग्रह-तारा बाँधिएका यसैमा
अतिकति गलतीले नाघ्न मान्दैन सीमा।
शिशु -युवक- बुढ्यौली ल्याउने काम गर्छ
अब मिति सकियो है लौ न जाऊँ न भन्छ
नियम छ उसको नै बँच्दछौँ आयुसम्म
गणित छ उसकोमा हेर्छ खाता अचम्म।
विनय गर गई लौ रोक लाऊ गएर
जति गर विनती ले बस्न मान्दैन हेर
निशिदिन खटिने ऊ सूर्यको कक्ष भित्र
कति पनि रिस छैनन् लाग्छ धेरै पवित्र।
पख पख जति भन्नू कान सुन्दैन हेर
अघि अघि छ बढेको बस्न गर्ने अटेर
सघन घन अँध्यारो राति होस् या बिहान
ठम ठम दगुरेको हुन्छ राखेर सान।
परिधि छ उसको नै चल्छ ब्रह्माण्ड सारा
वरिपरि छ घुमेको दिन्छ मात्रै इसारा
पलकभर बिसाई मोजमस्ती न गर्छ
विधि नियम उसैको गर्छ गस्ती र चल्छ।





